मधेस प्रदेश सांसदद्वारा पर्यटन कार्यालयमा तालाबन्दी

जनकपुरधाम । बिचौलियालाई कमिसन लिई योजना बिक्री गरेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मातहतका पर्यटन विकास कार्यालय धनुषाको कार्यालयमा मधेस प्रदेशसभाका सांसदहरूले तालाबन्दी गरी धर्नामा बसेका छन् ।

महिनाँैदेखि कार्यालयमा बेखबर भएका कार्यालय प्रमुख बासुदेव भट्ट कार्यालय बाहिरैबाट बिचौलियामार्फत कमिसन लिई मन्त्रीको निर्देशनमा आफ्ना कार्यकर्तालाई योजना वितरण गर्दै आएको आरोप लगाउँदै उनीहरूले पर्यटन विकासका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका हुन् ।

बिचौलियालाई १०/१० प्रतिशतमा योजना वितरण गर्दै आएको आरोप मधेस प्रदेशसभाका कांग्रेस सांसदहरूको आरोप छ । धर्नामा बसेका सांसदहरूले योजनाको उपभोक्ता समिति बनाउने चिट्ठी वडा कार्यालयमा वा सम्बधित उपभोक्तालाई नपठाई बिचौलियामार्फत पर्यटन विकास कार्यालयले पठाउने गरेको र त्यसले काम गर्न निकै समस्या भइरहेको वडा कार्यालयबाट गुनासो आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको सांसद शेषनारायण यादवले बताए ।

उनले भने ‘आफूहरूले कार्यालय प्रमुख भट्टलाई योजनाको चिट्ठी वडा कार्यालयमा वा सम्बन्धित वडाको योजनाको लाभग्राहीलाई चिट्ठी वितरण गर्न पटकपटक ताकेता गर्दा पनि कुनै चासो नलिएपछि आफूहरू बाध्य भई कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेको हुँ ।’
यस्तै धर्नामा बसेका अर्का सांसद सञ्जय महतोले बिचौलियामार्फत कमिसन लिई योजना वितरण गरिरहेको गुनासो आएको विषयमा कार्यालय प्रमुख भट्टसमक्ष फोनमार्फत राख्दा उनले मन्त्रीजीको आदेशमा उहाँको मान्छेलाई चिट्ठी भनेर जवाफ दिँदै आएकाले तालाबन्दी गरेर धर्नामा बस्न बाध्य भएको बताए ।

उनले भने, ‘बिचौलियामार्फत चिट्ठी वितरण गर्दा वडा कार्यालयमा सयौँ योजनाको चिट्ठी अलपत्र भई कार्य सञ्चालनमा आउन सकेको छैन । वडाध्यक्षहरूले वडा कार्यालयमा वा योजनाका सम्बन्धित सेवाग्राहीमार्फत चिट्ठी ल्याउन र तिनीहरूकै संलग्नतामा उपभोक्ता समिति बन्ने अडान लिएको कारण योजनाहरू बाटोमै अलपत्र परेका छन् ।’

अर्का सांसद जंगीलाल राय यादवले भने, ‘यो कार्यालयले धनुषा, महोत्तरी र सर्लाही सहितका तीन वटा कार्यालय हेर्दै आएकोमा पचासौँ÷पचास कोसबाट सेवाग्राहीहरू चिट्ठी लिन दिनहुँ कार्यालय धाइरहेका छन् । तर, यहाँ न त कार्यालय प्रमुख भेटछन् न चिट्ठी, वडा कार्यालयमा जाँदा ती चिट्ठी बिचौलियाले लिएर आएको थाहा पाउँछन् । यस्तो बेथिति छ यस कार्यालयको, ती बेथिति दूर गर्न आफूहरू धर्नामा बसेको हुँ ।’

धर्नामा बसेका प्रदेश सांसदले प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित मन्त्रीको रोहबरमा वार्तामार्फत कार्यालय प्रमुखले सम्बन्धित वडामा उपभोक्ता समिति सम्बन्धित व्यक्तिलाई पठाउने प्रतिबद्धता नजनाएसम्म आफूहरूको तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया