मनाङको लार्केपासबाट पाँच बिरामी विदेशी पर्यटकको उद्धार

मनाङ । विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो ।

लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौं पठाइएको छ । साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए ।

लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनले बताए । उनले भने, ‘तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ, यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ ।’– रासस

प्रतिक्रिया