मधेसका ४ जिल्लामा हात्तीपाइले नियन्त्रण चुनौतीपूर्ण

मधेस ब्युरो । भारतसित सिमाना जोडिएका मधेस प्रदेशका ४ जिल्लामा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण देखिएको छ । हात्तीपाइले रोग नियन्त्रणमा समस्या देखिएका मधेस प्रदेशका ४ जिल्लामा रोगविरुद्ध अभियान सञ्चालन हुने भएको छ ।
यसअघि सञ्चालन गरिएको अभियान करिब असफल देखिएको यी जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छन् । हात्तीपाइलेको उच्च जोखिममा रहेका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गत वर्ष असफल भएको अभियान फेरि सुरु गर्न लागेको हो । पर्सा, बारा, सिरहा र सप्तरीमा यसअघि नै हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सफल भएको थियो ।

हरेक दुई वर्षमा अभियान सञ्चालन हुने गर्छ । अभियानपछि सर्वेक्षण गरेर कतिले औषधि खाए वा खाएनन्, त्यसका आधारमा हात्तीपाइले रोगविरूद्व अभियान सफल वा असफल भएको घोषणा गर्ने गरिन्छ । गत वर्ष रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा औषधि अभियान असफल भएपछि यी ४ जिल्लामा हात्तीपाइलेको जोखिम उच्च देखिएको हो ।

हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान सफल बनाउन रौतहट सदरमुकाम गौरमा अन्तरक्रिया गरिएको छ । अन्तक्र्रियामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आमऔषधि सेवन अभियानलाई सफल बनाउन सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले संवेदनशील भएर सहयोग गर्नुपर्ने बताइएको छ । वैशाख १६ देखि २९ सम्म १४ दिन अभियान सञ्चालन हुने भएकाले सबै सञ्चारकर्मीले अभियानमा सहयोगीको भूमिका निर्वाह गरिदिन आग्रह गरिएको छ ।

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा समेत सर्ने भएकाले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिकाबाहेक सबैले औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत हरेन्द्र गुप्ताले जानकारी गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा आयोजित अन्तक्र्रियामा सन् २०१९ को एक सर्वेक्षणको आधारमा रौतहटमा १५, सर्लाहीमा १२, महोत्तरीमा २१ र धनुषामा ३ जना संक्रमित फेलापरेको जानकारी गराइएको हो ।

महोत्तरी, रौतहट र सर्लाहीमा धेरैको संख्यामा हात्तीपाइले संक्रमण फेला परेको हुनाले अभियानलाई सफल बनाउन सबैको भूमिका अपरिहार्य रहेको बताइएको छ । गत वर्ष असफल भएकोले यस वर्ष अभियानलाई सफल बनाउन मधेस प्रदेशका चारवटै जिल्लामा पुनः हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन भएको जानकारी गराइएको छ ।

डा. गोपाल गुप्ता र डा.चाँदनी जयसवालले हातिपाइले रोग विरुद्ध औषधी सेवन गरिदिन हुन र अरुलाई पनि गर्नका लागि प्रोत्साहित गर्न तथा गराउन सहयोग गर्न अपिल गरेका छन् । जनचेतनाको कमीले यो अभियान असफल हुँदै आएकोले यसपालि सबैले आ–आफनो भूमिका निर्वाह गरी सफल बनाउनु पर्ने सहभागीहरूले जोड दिएका छन् ।

हात्तीपाइलेको जोखिम उच्च देखिएका महोत्तरी, सर्लाही तथा रौतहट जिल्ला देशकै सबैभन्दा कम साक्षर जिल्लामा रहेकाले सकारात्मक जनचेतना जगाउनु अत्यन्त महत्वपूर्ण काम भएको बताइएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया