‘हाटा’ गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको लगाम

काठमाडौं । एक समय ‘हाटा’ शब्द निकै चर्चित थियो । ‘हाजिर गर्ने टाप कस्ने’ प्रवृत्तिलाई छोटकरीमा ‘हाटा’ भनिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अब यसरी ‘हाटा’ गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कडाइ गर्ने भएको छ । मन्त्रालयले शुक्रबार आफू मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूमा पत्राचार गर्दै यस्ता कर्मचारीलाई कडाइ गर्न निर्देशन दिएको छ ।

सरकारीमा हाजिर गरेर निजीमा काम गर्ने प्रवृत्ति नेपालका प्रायः सबै सरकारी अस्पतालहरूको एक प्रमुख समस्या हो । सरकारी जागिर खाने चिकित्सक सेवा अवधिभर अस्पतालमा नबस्ने मात्र होइन, सरकारीमै सेवा लिन आउनेलाई समेत निजीमा आउन सल्लाह दिने गरेको बिरामीको गुनासो छ ।

थापाथली प्रसूती गृह, वीर अस्पतालजस्ता ठुला सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू त काठमाडौँमा रहेका ठुला निजी अस्पतालहरूको विभागीय प्रमुखसम्म भएर काम गरेको देखिएको छ । यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्दै सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ल्याइएकोे ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कागजमा मात्र सीमित भएको छ ।

यस्तै परिपाटी रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भर्खरै सरुवा भई आएका सचिव मधुसूदन बुर्लाकोटीले शुक्रबार पत्राचार गर्दैै यस्तो गतिविधि रोक्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले कार्यालयमा बिहान हाजिर गर्ने र टाप कस्ने प्रवृत्तिमा काम गरिरहेका स्वास्थ्य सेवामा रहेका सरकारी कर्मचारी÷चिकित्सकलाई अबदेखि यस्ता कार्य दोहोरिए कानुनबमोजिम हुने कुरा सम्झाएका छन् ।

पत्रमा उनले उल्लेख गरेका छन्, ‘चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको हाजिरी हेर्दा देखिने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिएको गुनासो बढेपछि यस्तो प्रवृत्ति रोक्न आवश्यक छ ।’ मन्त्रालयका तर्फबाट बुर्लाकोटीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘आफ्नो कार्यकक्षमा गैरउपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आ–आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नहुन निर्देशन दिइएको छ । भविष्यमा कसैको पनि यस प्रकारका गतिविधिमा संलग्नता पाइएमा कानुन बमोजिम हुन जाने र सोबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने व्यहोरासमेत जानकारी गराइन्छ ।’

खासगरी प्राविधिक क्षेत्रका कर्मचारीहरू सरकारीमा हाजिर गर्ने र निजीमा काम गर्ने गरेको भन्ने अलि बढी देखिएको छ । अझ कतिपय चिकित्सकमाथि त सानो शल्यक्रिया गर्न सरकारीमा महिनौँपछि पालो लगाउने र निजीमा मोटो रकम तिरेपछि उनैले दोस्रो दिन नै काम फत्ते गरिदिने गरेको देखिएको छ । कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने समाचारहरू आउन थालेपछि मन्त्रालयले यस्तो कडाइ गरेको जनाएको छ ।

सरकारीमा हाजिर गरेर निजीमा सेवा दिने चिकित्सक नै सरकारले ल्याएको ‘एक स्वास्थ्य संस्था, एक स्वास्थ्यकर्मी’ कार्यक्रमको विरोधी देखिएका छन् । चिकित्सकका संघ÷संस्थाका विरोधकै कारण सो कार्यक्रम लागू हुन सकेको छैन । सरकारले कार्यविधिमा केही संशोधन गरेर मूल्यांकनका आधारमा अधिकतम ३७५ प्रतिशतसम्म भत्ता दिने व्यवस्था गरेको छ । तर, चिकित्सक यसमा पनि सन्तुष्ट छैनन् र ‘हाटा’ प्रवृत्ति घटनुको सट्टा झन् बढ्दै गएको छ ।

प्रतिक्रिया