मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान

मधेस ब्यूरो । मधेसका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । हात्तीपाइले रोगको जोखिममा रहेको अभियान सञ्चालनमा असफल देखिएको मधेस प्रदेशकाा चार जिल्ला रौतहट, सर्लाही, महोत्तरी र धनुषामा यो अभियान सञ्चालन गरिँदैछ । गत वर्ष पनि यो अभियान सञ्चालन गरिएको थियो ।

मधेसको बाँकी चार जिल्ला पर्सा, बारा, सिरहा र सप्तरी यसअघि नै हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियानमा सफल भएकोले उक्त जिल्लामा यो अभियान सञ्चालन नहुने भएको छ । हरेक दुई वर्ष अभियान सञ्चालन गरेर सर्वे गरी कतिले औषधि खाए–खाएनन् त्यसको आधारमा हात्तीपाइले रोगविरुद्ध अभियान सफल या असफल घोषणा गरिन्छ ।

हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान सफल बनाउन रौतहटको सदरमुकाम गौरमा शुक्रबार सञ्चारकर्मीहरुसँग राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा सो अन्तरक्रिया गरिएको हो । उक्त कार्यक्रममा साझा गरिएको सन् २०१९ को एक सर्वेक्षणको आधारमा रौतहटमा १५, सर्लाहीमा १२, महोत्तरीमा २१ र धनुषामा ३ जना संक्रमित फेला परेको जानकारी गराइएको छ । त्यसैले यी जिल्लाहरूमा पुनः हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन भइरहेको छ ।

आगामी वैशाख १६ देखि २९ गतेसम्म १४ दिन अभियान सञ्चालन गरिने बताइएको छ । हात्तीपाइले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिमा समेत सार्ने भएकाले गर्भवती महिला, अशक्त, दुई वर्षमुनिका बालबालिका बाहेक सबैले औषधि सेवन गर्नुपर्ने जनस्वास्थ्य अधिकृत हरेन्द्र गुप्ताले जानकारी दिए ।

हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रास रूटबाट औषधि सेवन अभियानलाई प्रभावकारी रुपबाट प्रचारप्रसार गरिनुपर्नेमा सबैको जोड थियो । कार्यक्रमा डा. गोपाल गुप्ता र डा. चाँदनी जयसवालले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गर्न–गराउन सहयोग गर्न अपिल गरेका थिए ।

जनचेतनाको कमीले यो अभियान असफल हुँदै आएकाले यसपाली सबैले आ–आफ्नो भूमिका निर्वाह गरी सफल बनाउनु पर्ने उनीहरुले बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झाले चार जिल्ला पास र चार जिल्ला फेल भएको अवस्था रहेकोले पुनः सञ्चालन गरिने जिल्लामा हात्तीपाइले रोग कसरी निर्मूल पार्न सकिन्छ भन्नेबारे लाग्नुपर्नेमा जोड दिए । उनीहरुले सबै जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेर अभियान सफल बनाउन अनुरोध गरे ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया