बारा । ‘वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन’ भन्ने मूलनाराका साथ पर्सा राष्ट्रिय निकुञ्जले पनि २९औँ वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । पर्सा राष्ट्रिय निकुञ्जले २९औँ वन्यजन्तु सप्ताह कार्यक्रम २०८१ को असवर पारेर बिहीबार पर्यटनसम्बन्धी सरोकारवाला र पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मधेस प्रदेशको एक मात्र निकुञ्जको रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जले वैशाख १ गतेदेखि सुरु भएको २९औँ वन्यजन्तु सप्ताह कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । पर्यापर्यटनसम्बन्धीको अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सबै प्राणीमध्ये मानवजाति बढी चेतनशील भएकाले पृथ्वीलाई अझ सुन्दर र सबैको साझा बनाउन मानिसको महत्त्वपूर्ण भूमिका रहने बताउँदै कार्यालय प्रमुख खतिवडाले जैविक विविधता जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए ।
बारामा मानव–जनाबरबीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीन वटै तहका सरकार मिलेर हल गर्नुपर्ने निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाले बताए । निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा बर्सेनि वन्यजन्तुको वृद्धि भएको र जंगली पशुपन्छीहरू उचित वासस्थान गर्नुपर्नेमा निकुञ्ज लागिपरेको खतिवडाले बताए । उनले भने जनावर आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवको जिउज्यान खतरामा पर्नुका साथै बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि तिनै तहको सरकारले आवश्यक समन्वय गरिदिएमा मानव र जनावर बीचको द्वन्द्व कम हुनेछ ।
पर्सा राष्ट्रिय निकुञ्जले रतनपुरी पोस्टबाट वन मन्त्रीको शुभकामना मन्तव्य पढेर २९औँ वन्यजन्तु सप्ताह सुरु गरेको थियो । २९औँ वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्जले अधाभार र अमलेखगन्ंजको बाटोको छेउमा फालिएको बोतल, प्लास्टिक सरसफाइलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको पर्सा राष्ट्रिय निकुञ्जले बताएको छ । पर्यटकीय आकर्षणका गन्तव्यस्थल बनेपछि समग्र अन्य पूर्वाधारहरूको विकास र पर्यटकीय गन्तव्यहरूको योजनावद्ध स्तरोन्नति हुनसके यहाँको पर्यटन विकास दिगो हुने मध्यवर्ती व्यवस्थापन क्षेत्रको अध्यक्ष सीताराम अर्यालले बताए । अन्तरक्रिया कार्यक्रममा पर्यटकीय गतिविधिहरूलाई समेटेर अगाडि बढ्नुपर्नेमा पत्रकारहरूले धारण व्यक्त गरे । अर्थतन्त्र चलायमान गर्न पर्यटकीय क्षेत्रले विशेष भूमिका खेल्ने सरोकारवालाहरूको भनाइ थियो । उक्त अन्तरक्रिया कार्यक्रममा बारा, पर्सा, मकवानपुर क्षेत्रमा सक्रिय रूपमा पत्रकारिता गरिरहेका पत्रकार तथा निकुञ्जका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया