अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ, के हाे घटना ?

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

के हाे घटना ?

झन्डै १७ वर्षअघि भएको फैसलामा ५ वर्ष सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फामा छिरेका थिए । प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो । त्यसको एक महिनापछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

२०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए । फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए । तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लामालाई जिल्लाको फैसला संशोधन गर्दै कैद सजाय ५ वर्ष पुर्‍याएको थियो । उक्त फैसलाविरुद्ध लामा सर्वोच्च अदालत नगएपछि त्यही सजाय अन्तिम ठहर हुन पुगेको थियो ।

प्रतिक्रिया