समुदायको काठ चोरी गर्ने असई कारबाहीमा

मधेश ब्युरो । काठ चोरीको आरोप लागेका रौतहटका एक जना असईमाथि कारबाही भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिनानाथ यादव कारबाहीमा परेका हुन् ।

असई यादवमाथि सामुदायिक संस्थाको काठ बिक्री गरेको र अन्य काठबाट फर्निचर बनाई वीरगन्जस्थित आफ्नो घरमा लगेको आरोप रहेको छ । सन्तपुरमा जीर्ण अवस्थामा रहेको साझा सहकारी संस्था लिमिटेडको पुरानो भवन भत्काएर राखेको काठ चोरी गरेको आरोप स्थानीयले लगाएका छन् ।
असई यादवले काठ हिनामिना गरेको आरोप लगाउँदै सम्बन्धित निकायमा जानकारी गराए पनि नसुनेपछि स्थानीयले सोमबार प्रहरीचौकी घेराउ गरेका थिए । व्यापारी तथा सर्वसाधारणसित अवैध असुली गर्ने गरेको, जंगलबाट काठ ओसार्न सहयोग गरेको तथा सहकारीको काठ हिनामिना गरेको आरोप लगाउँदै स्थानीयले असईमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । असई यादवले तरकारी व्यापारीलाई धम्क्याएर अवैध असुली गर्ने गरेको तथा जंगलबाट काठदाउरा ल्याउनेलाई प्रोत्साहन गर्ने गरेको आरोप रहेको छ ।

असई यादवले काठको फर्निचर बनाएर पटकपटक आफ्नो घर लगेको, स्थानीयले आग्रह गर्दा पनि नमानेको तर अन्तिमपटक लैजान खोज्दा स्थानीयले बल प्रयोग गरी रोकेपछि असई यादवले धम्की दिएका थिए । चन्द्रपुर नगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र चौधरीले असई यादवले काठको फर्निचर लैजान खोज्दा स्थानीयले रोकेको जानकारी आफूलाई भएको बताएका छन् ।

असई यादवले भने आफूले राम्रो काम गरेको देखेर कतिपयलाई नपचेको बताउँदै काठको फर्निचर बनाएर घर लगेको तथा सहकारी संस्थाको काठ नभएको सफाइ दिएका छन् ।

असई यादवमाथि कारबाहीको माग उठेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई जिम्मेवारीबाट मुक्त गरेको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । असई यादवमाथि लागेका आरोपहरूबारे छानबिन गर्न समिति गठन गरिएको र समितिले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी गराएकी छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया