कारबाहीमा परेका स्वास्थ्यकर्मीलाई उपेन्द्रको ‘थमौती’

काठमाडौं । कोरोना महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा कारबाहीमा परेर जागिर गुमाएका एक स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ठाडो निर्देशनमा थमौतीपत्र दिइएको छ ।

गंगालाल हृदयरोग उपचार केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई जागिर गुमाएको २ वर्षपछि थमौतीपत्र दिइएको हो ।

नक्कली पिसिआर रिपोर्ट बनाएको, त्रिवि शिक्षण अस्पताल र गंगालालको नक्कली लेटरप्याड बनाएर रिपोर्ट दिने गरेको, परीक्षण नै नगरी रिपोर्ट बेचेको र पोजेटिभ रिपोर्ट २ हजार रुपैयाँ लिएर नेगेटिभ बनाएर दिएको लगायत विषयमा छानबिनमा परेर कारबाही स्वरूप जागिरबाट निकालिएका थिए ।


थमौतीमा परेका यादवलाई तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार १९ पुस, २०७८ मा केन्द्रको कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५८ को नियम १३.५ को खण्ड (छ) र (ट) को कसुरमा सोही नियमावलीको नियम १३.१ को खण्ड (ख)को १ बमोजिम भविष्यमा केन्द्रको सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको थियो । गंगालाल हृदयरोग उपचार केन्द्रको सञ्चालक समितिमा स्वास्थ्यमन्त्री पदेन अध्यक्ष रहने व्यवस्था छ ।

अहिले उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएपछि स्वतः केन्द्रको सञ्चालक समितिको अध्यक्ष हुँदा त्यही सञ्चालक समितिमा निर्णय गराएर थमौतीपत्र दिएका हुन् । थमौतीपत्रमा केन्द्रका कार्यकारी निर्देशक रवि मल्लको हस्ताक्षर छ । पत्रमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा यस केन्द्रमा वरिष्ठ ल्याब टेक्नोलोजिस्ट पदमा कार्यरत तपाईँ विनोदकुमार यादवलाई मिति २०८०/१२/२० गते बसेको केन्द्र सञ्चालक समितिको बैठकको निर्णयानुसार मिति २०८१/०१/०२ गतेदेखि केन्द्रमा हाजिर हुनका लागि यसै पत्रमार्फत् जानकारी गराउँदछु ।’

प्रतिक्रिया