नेपालमा श्रमको उचित मूल्य छैन : मुख्यमन्त्री महरा

अर्घाखाँची । नेपालमा श्रम अनुसारको मूल्य नभएका कारण युवाशक्तीहरू विदेश पलायन भएको लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोखबहादुर महराले बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ मा रहेको शान्ति माविको हिरक महोत्वसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘यहाँ श्रमको मूल्य निकै सस्तो भएकाले नेपाली श्रमिकहरूले आफ्नो श्रमलाई उचित मूल्यमा बेच्न बिदेसिएका हुन्’, मुख्यमन्त्री महराले भने, ‘हामीहरूले यो देशमा श्रमको उचित मूल्य बनाउनसके स्वदेशी मात्र होइन, विदेशी पनि यहाँ आउँछन् । अब गालीले मात्र देश चल्दैन, विवेकका साथ अगाडि बढ्न सक्नुपर्छ ।’

‘गाउँगाउँमा भएका विद्यालय क्याम्पसमा पठनपाठनसँगै प्रविधिमैत्री, सीपमूलक र उत्पादनसँग जोडने खालको सीप सहितको शिक्षा दिई सहरकेन्द्रित विद्यार्थीलाई गाउँमा फर्काउने वातावरण बनाउनुपर्छ । यसमा शिक्षक विद्यार्थी, अभिभावक सबै सरोकारवालाले विशेष ध्यान दिनुपर्छ’, मुख्यमन्त्री महराले भने ।

मुख्यमन्त्री महराले परिस्थितिअनुहार अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘हिजो र आजको परिस्थिति बदलिएको छ, उत्पादन सम्बन्ध फेरिएका छन्, उत्पादन प्रणाली फेरिएका छन्, मान्छेको जीवनस्तर फेरिएको छ । हिजो खानका लागि वस्तु विनिमय गर्नुपर्ने थियो भने अहिले अनलाइनबाटै सबै काम हुन थालेको छ, समयको गतिसँगै हिँड्नुपर्छ ।’

२१आँै शताब्दीको शिक्षा विज्ञान र प्रविधिको भएकाले विश्व बजारमा बिक्ने खालको जनशक्ति उत्पादन गर्ने खालको शिक्षा हुनुपर्नेमा जोड दिए । यदि त्यसो गर्न नसके हाम्रा क्याम्पस, विद्यालयहरू अब बेरोजगार उत्पादन गर्ने शिक्षालय मात्र हुने मुख्यमन्त्री महराले ठोकुवा गरे ।
शिक्षालाई व्यावहारिक वैज्ञानिक शिक्षा बनाउन लाग्नुपर्ने भन्दै शिक्षालाई युग परिवर्तनसँगै नयाँ तरिकाले सिर्जनशील र रचनात्मक तवरले अगाडी बढाउनुपर्ने पूर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुशीला श्रीपालीले बताइन् ।

विद्यालयको भौतिक पूर्वाधार निमार्णमा कसैले चिन्ता गर्न नपर्ने भन्दै शिक्षाको गुणस्तर विकासका साथै परिणाम देखिने गरी सबै लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले बताए । मन्त्री आचार्यले भने, ‘जसरी यहाँहरूले विश्वास गरेर मलाई जिताउनुभयो त्यसैगरी यहाँहरूको चाहनाअनुसार नै अगाडि बढ्नेछु, मुख्यमन्त्री र म हिजोका दिनमा पनि परामर्श गरेर अगाडि बढेका थियौँ आज पनि अर्घाखाँची जिल्लाको विकास र समृद्धिका लागि कुनै कमी हुन दिने छैनौँ ।’

आर्थिक तथा सामाजिक विकाससँगै शिक्षालाई उत्पादन र स्वरोजगारीमुखी बनाउनुपर्ने भन्दै सबै सरोकारवालाहरूले शिक्षाको शैक्षिक गुणस्तर विकासमा सबैले ध्यान दिनुपर्ने प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले बताइन् ।

शिक्षाको विकाससँगै आर्थिक विकासका लागि अर्घाखाँची जिल्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हँुदा पत्रकार महासंघले अभियान चालेकोले सबैले साथ दिनुपर्ने पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

हिरक महोत्सव पूर्व राष्ट्रिय सभा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षता वडा अध्यक्ष तिलक मिश्रको स्वागत मन्तव्य, विद्यालयका प्रधानध्यापक मानहादुर पाण्डेको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा शिक्षक माधव पन्थी र बसन्त खड्को सञ्चालनमा सम्पन्न भएको थियो ।

हिरक महोत्वसको अवसरमा सोही विधालयमा अध्ययन गरी विद्यावारिधी हासिल गरेका पूर्वविधार्थीहरू साथै विद्यालयलाई विभिन्न तवरले सहयोग गर्नेहरूलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई उपाध्यक्ष दिपा पोख्र्र्रेलसहित विभिन्न राजनीतिक दल जनप्रतिनिधि पूर्वविद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी जग्गादाता, चन्दादाताहरूले समेत शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया