हेटौँडामा अन्य जिल्लाका विद्यार्थीको आकर्षण

स्थानीयलाई सिट पाउनै मुस्किल

हेटौँडा । आइतबारदेखि देशैभरका विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान चलिरहँदा हेटौँडाका सामुदायिक विद्यालयहरूलाई भने विद्यार्थी व्यवस्थापन कसरी गर्ने भन्ने सकस भएको छ । विद्यार्थी भर्ना अभियानका लागि घरदैलो अभियानमा निस्किए पनि बागमती प्रदेशको राजधानी सहरका कतिपय विद्यालयमा प्रवेश परीक्षा लिएर विद्यार्थी फर्काउनुपर्ने बाध्यता रहेको छ । सीमित भौतिक संरचना र पर्याप्त शिक्षक दरबन्दी अभावका कारण पनि यस्तो बाध्यता रहेको प्रधानाध्यापकहरूको भनाइ छ ।

केही वर्षयता हेटौँडाले आफूलाई शैक्षिक केन्द्रको रूपमा बिस्तार गर्दै लगेसँगै अन्य जिल्लाका विद्यार्थीको आकर्षण यहाँका विद्यालयहरूमा अत्यधिक बढेको छ । हेटौँडाका प्रमुख सामुदायिक विद्यालयहरूमा माथिल्ला कक्षामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू जिल्लाबाहिरका रहेको प्रधानाध्यापकहरूले बताएका छन् । अधिकांश विद्यार्थी मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट पढ्नकै लागि हेटौँडा आइपुग्ने गरेका छन् । बाहिरका विद्यार्थीको चाप बढ्नु र भर्नाका लागि प्रवेश परीक्षा अनिवार्यजस्तै भएपछि कतिपय स्थानीय विद्यार्थी घरनजिकैको विद्यालय छाडेर टाढाको विद्यालय पुग्नुपर्ने बाध्यता आइपरेको छ ।

स्थानीयले यसबारे गुनासो गरेपछि हेटौँडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले अघिल्लो वर्ष २०८० देखि स्थानीय र बाहिरी जिल्लाबाट आउने विद्यार्थीका लागि प्रवेश परीक्षा नै फरकफरक लिन सुरु गरेको छ । ‘स्थानीय विद्यार्थीले यहाँ पढ्न चाहेमा प्रवेश परीक्षामा न्यूनतम अंक मात्र ल्याए पुग्छ, बाहिरबाट आउने विद्यार्थीले भने मेरिट लिस्टअनुसार भर्नाका लागि प्राथमिकता पाउँछन् ।’ प्रधानाध्यापक रामसागर गुरागाईंले बताए ।

भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालले पनि स्थानीय बालबालिकाको स्थानीय विद्यालयमा पढ्न पाउने अधिकार भएको भन्दै यस विषयमा विद्यालयको व्यवस्थापन समितिमा गम्भीर छलफल भएको जानकारी दिए । हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका अंग्रेजी माध्यम संयोजक गणेश हुमागाईंका अनुसार विशेषगरी माध्यमिक तहमा बाहिरका विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई लिनुपर्ने बाध्यता आएको हो । ‘यद्यपि वडाभित्रकै विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखिन्छ’, हुमागाईंले भने ।

घरपायक विद्यालयमा पढ्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाले कुनै बालबालिकाले पनि त्यस्तो अवस्थाको सामना गर्नुपर्ने अवस्था नआउने बताए । उनले भने, ‘विद्यालयको स्रोतसाधनले नभ्याएको अवस्थामा नयाँ भर्ना लिन सकिन्न भन्नु विद्यालयको बाध्यता पनि होला । तर, प्रवेश परीक्षाकै कारण कुनै विद्यार्थीले घरपायक विद्यालयमा पढ्न नपाएको अवस्था हो भने त्यसमा महाशाखाले आवश्यक समन्वय गर्न सक्छ ।’

प्रतिक्रिया