लालबन्दी नगरअस्पतामा सुत्केरी गराउनेको चाप बढ्यो

लालबन्दी । सर्लाहीको लालबन्दीमा नगर अस्पतालको सेवा सुरु भएसँगै बिरामीको चाप बढ्न थालेको छ । विशेष गरी शल्यक्रिया विधिबाट प्रसूति सेवा प्रारम्भ भएसँगै जिल्लाभरीका महिलाहरू सुत्केरी गराउनका लागि यहाँ आउन थालेका छन् । अस्पतालले सार्वजनिक गरेको चैत महिनाको तथ्यांक अनुसार ६१ जनाले डुमडुमेमार्फत सुत्केरी गराएका छन् । जसमा ४६ जनाको नर्मल र १५ जनाको शल्यक्रिया (सिएस) बिधिबाट सुत्केरी गराइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा सुत्केरी गराउन लागि जिल्ला भित्रका आठ ओटा पालिका र छिमेकी सिन्धुली जिल्लाबाटसमेत गरी चैत महिनामा ४६ जनालाई सुत्केरी सेवा प्रदान गरिएको हो । यो सेवा सबैभन्दा धेरै लालबन्दी नगरपालिका भित्रका सुत्केरीले नै लिए । लालबन्दीका ३८ जनामध्ये २८ जनाको सामान्य सुत्केरी र १५ जनाको सल्यक्रिया विधिबाट सुत्केरी गराइएको हो । त्यसैगरी हरिवन नगरपालिकाका नौ जनाको नर्मल र एक जनाको शल्यक्रिया बिधिबाट, बागमती नगरपालिकाका एक जना सामान्य र एक जना शल्यक्रिया, ईश्वरपुर नगरपालिकाका पाँच मध्ये चार सामान्य र एकको शल्यक्रिया बिधिबाट सुत्केरी गराइएको हो । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.रामबिश्वास रायको नेतृत्वमा सेवा प्रदान हुँदै आएको छ ।

चैत महिनामै कबिलासिका एक, हरिपुरका दुई, मलंगवाका एक, चक्रघट्टाका एक र छिमेकी सिन्धुली जिल्लाकी एक गर्भवती महिलाले सो सेवा लिएका छन् । यसअघि यस क्षेत्रका गर्भवती महिलाहरू सुत्केरी गराउनका लागि वीरगन्ज, जनकपुर, चितवन, काठमाडौं लगायतका सहरमा पुग्ने गरेका थिए । विश्वासिलो र भरपर्दो सेवासहित लालबन्दी नगर अस्पतालमै शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु भएपछि यहाँका गर्भवती महिलाहरूलाई लाभ भएको छ ।

अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर गएको २१ फागुनबाट लालबन्दी नगर अस्पतालमै सिएस अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा सुरु गरिएको हो । अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा.रामविश्वास रायका अनुसार पहिलोपटक सिरहाको मिर्चैया घरभएकी १९ वर्षीया चण्डिका मगरको सिएस विधिमार्फत प्रसूति गराइएको थियो ।

आफ्नै ठाउँमा सिएस सेवा सुरु भएपछि यहाँ सेवा लिने बढेको छ । सेवा सुधारिएकाले अस्पतालमा ओपिडीतर्फ पनि चाप बडेकोे अस्पतालका इन्चार्ज डा.रायले बताए । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु भएसँगै अब बालरोग विशेषज्ञको व्यवस्था गर्न लागिपरेको बताए । उनले चुनावताका गरेको बाचा मध्ये पहिलो काम गर्न सफल भएको बताए । मेयर अधिकारीले आफ्नो चुनावी घोषणापत्रमै स्वास्थ्य, शिक्षाको क्षेत्रमा देखिने परिवर्तन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै लालबन्दीस्थित नगर अस्पतालमा ब्लडबैंक पनि सञ्चालनमा आएको छ । ब्लडबैंक स्थापना भएसँगै शल्यक्रियामार्फत प्रसूति गराउँदा रगतको समस्या हुन छोडेको छ ।

प्रतिक्रिया