जानकी मन्दिरका सहायक महन्थ रोशन र जानकी सेनाबीच चर्काचर्की

जनकपुरधाम । हिन्दूहरूको आस्थाका केन्द्र्र तथा नेपालकै सबैभन्दा ठूलो मन्दिर जानकी मन्दिरलाई पुनः विवादमा तानिएको छ । महन्थ र सहायक महन्थबीच पटकपटक हुँदै आएको द्वन्द्वले विवादित बन्दै आएको मन्दिर अहिले मन्दिरका सहायक महन्थ रामरोशन दास र जानकी सेनाबीच भएको वाक युद्ध र पावर सेयरिङले जानकी मन्दिर पुनः विवादमा आएको हो । जानकी सेनाले जानकी मन्दिरकै प्रांगणमा रामनवमी पूजाको आयोजना गर्ने तयारी गरेको थियो । यसका लागि जानकी सेनाले भगवान् रामको प्रतिमा बनाउने तयारीसमेत सुरु गरेको थियो । विवाद जानकी मन्दिरमा भगवान् रामको प्रतिमा बनाउने विषयलाई लिएर नै सुरु भयो । जानकी मन्दिर प्रशासनले मन्दिर प्रागंणमा मूर्ति पूजा गर्न नदिने भनेपछि जानकी सेना मन्दिर प्रांगणमै मूर्ति बनाएर मूर्ति पूजा गर्ने अडान लिएको थियो । यहीँबाट विवाद सुरु भएको थियो ।

मन्दिर प्रांगणमा मूर्ति बनाएर पूजा गर्न नदिइएपछि जानकी सेनाका युवाहरूले मन्दिर अगाडि विरोध प्रदर्शन गरेका थिए । युवाहरूले मन्दिरअगाडि टायर बालेर जानकी मन्दिरका महन्थविरुद्ध घण्टौँ नारावबाजी गरेका थिए । यता जानकी मन्दिरका महन्त रामतपेश्वर दासले धार्मिक तथा आध्यात्मिक स्थललाई विवादित नबनाउन आग्रह गरेका छन् ।

महन्त दासले जनकपुरधामको विशेष दिन जानकी नवमी रहेको बताउँदै उनले धर्म र संस्कृतिको रक्षा र संरक्षणका लागि जानकी मन्दिरले सदैव आफ्नो भूमिका निर्वाह गरेकाले यस पवित्रस्थललाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने बताए । जानकी सेनाले जानकी मन्दिर परिसरमा माटोको रामको मूर्ति स्थापना गरी राम नवमी मनाउनका लागि राम मन्दिर नै उपयुक्त ठाउँ रहेको भन्दै महन्त दासले जानकी मन्दिरमा माटोको प्रयोग गरेर रामको मूर्ति नबनाउन आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जानकी मन्दिर परिसरमा कुनै पनि सार्वजनिक कार्यक्रममा गर्नमा बन्देज लगाएको छ । महन्त दासले जानकी मन्दिरबाहेक अन्यत्र स्थलमा सो कार्यक्रम गर्न आग्रहसमेत गरे । उनले जानकी मन्दिरको बेग्लै पहिचान र जानकीको आफ्नो अस्तित्व रहेकाले त्यसलाई ख्याल गर्न आग्रह गरे । महन्त दासले भने, ‘विना कारण अध्यात्मिकस्थल जानकी मन्दिरलाई विवाद नतानिओस् । यहाँको छुट्टै महत्त्व छ । यो जानकी स्थल हो ।’

यता यसै विषयमा सोमबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले जानकी मन्दिर बाहिर प्रर्दशन गर्नेमाथि कानुनी कारवाही गरिने निर्णय गरिएको छ । सोमबार बसेको बैठकबाट जानकी मन्दिरमा विवाद ल्याउन नहुने र कुनै पनि संगठनको नाममा विवाद गर्नेलाई कारबाही गरिने निर्णय गरिएको हो ।

प्रतिक्रिया