उदाउँदो सूर्यलाई अर्घ्य दिई चैत छठ पर्व सम्पन्न

मधेश ब्युरो । छठ पर्वको चैती संस्करण भव्यताका साथ सम्पन्न भएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरु आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरेका हुन् । घाटमा नै वा घरमा आइपुगेका व्रतालुहरु गाउँमा एक ठाउँमा भेला भएर कोसिया मनाएका थिए ।

चैत शुक्ल चतुर्थीको दिन ‘नहाखाएके’ व्रत आरम्भ गरी व्रतालुहरु पञ्चमी तिथिका दिन आइतबार राति ‘खरना’ गरेका छन् । खरनालाई छठ पर्वको सबैभन्दा महत्वपूर्ण पूजा मानिन्छ । षष्ठीको दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति ‘कोसिया’ मनाउँछन् ।

चारवटा उखुको बिचमा हात्तीमाथि वा त्यत्तिकै विशेष घैँटामा अनेक दीपक बालेर छठीमाई विशेष पूजा हुने गर्दछ । घाटमै बसेका व्रतालुहरु ‘श्रीसप्ता’कै वरिपरि र घर फर्केका व्रतालुहरु कोसियाको भाकल गर्नेको घरमा कोसिया पूजा सामूहिक रुपले गरिरहेका छन् ।

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि श्रीसप्तामाथि जलार्पण गरेर व्रतालुहरु एकले अर्कोलाई पूजाका सामग्री साटासाट गर्दै व्रतको समापन गरेका छन् । छठ पर्वको ‘उद्भवभूमि’ मानिएको रौतहटमा चैती छठ पनि भव्यतापूर्वक मनाइएको छ । हरेक गाउँमा विशेष पूजाआजा गरी छठ पर्व अत्यन्त श्रद्धा र भक्तिका साथ मनाइरहेको देखिएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया