जलवायु परिवर्तनको असर : बढ्दै छ हृदयघातबाट मर्नेको संख्या

न्युयोर्क । जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष तापक्रममा वृद्धि भइरहेको छ । यसको असर उच्च गर्मीको समयमा अझ बढी पर्न सक्छ । सन् २०१९ मा मात्र उच्च र न्यून तापक्रमका कारण हृदयघात भएर ५ लाखभन्दा बढीको ज्यान गएको जनाइएको छ । यो संख्या आगामी वर्ष अझ धेरै पनि हुन सक्ने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य जर्नल न्युरोलोजीमा गत साता प्रकाशित रिपोर्टका अनुसार अत्यन्त धेरै गर्मी र अत्यन्त धेरै जाडोका कारण हृदयघातको समस्या अझ बढ्न सक्छ । अध्ययनले देखाएअनुसार यसरी हृदयघातको जोखिम महिलामा भन्दा पुरुषमा बढी हुन सक्छ । तर, यसको असर सबै उमेर समूहलाई हुन सक्ने बताइएको छ ।

संसारभरका २०४ जना सहभागी गराएर यस विषयमा अध्ययन गरिएको थियो । चीनको साउथ युनिभर्सिटीको जिनजिया अस्पताल क्षेत्रका अनुसन्धानकर्ताहरूले यसको मोडल तयार गरेका हुन् । जलवायु परिवर्तन, यसको मौसममा पर्ने असर तथा यसले मानिसको मृत्युबारे अध्ययन गर्नका लागि नयाँ मोडल तयार गरिएको हो ।

अध्ययनले देखाएअनुसार सन् १९९० देखि हृदयघात हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो । सन् २०१९ मा धेरै जनाको हृदयघात हुनुको कारण कम तापक्रम थियो । अन्य स्थानमा गर्मी बढेसँगै यसले ध्रुवमा बाक्लो हावा जम्मा गर्छ । दुवै ध्रुव नजिक भएका स्थानमा अझ बढी जाडो पनि हुन सक्छ ।

जनघनत्व बाक्लो भएको तथा गरिबीका कारण स्वास्थ्य संयन्त्र असफल भएका देशमा यो समस्या अझ बढी भएको जनाइएको छ । त्यसै अध्ययनका अनुसार तापक्रम वृद्धिका कारण यसरी समस्या बढ्दै गएको क्षेत्र मध्य एसिया पनि हो ।

सन् १८५० यता सबैभन्दा बढी तापक्रम गत वर्ष मापन भएको थियो । तापक्रम बढ्दै गएका कारण आगामी वर्ष यो अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । विगतका अध्ययनहरूले देखाएअनुसार हृदयघातको समस्या यसअघि पनि नभएको भने होइन । विगतमा भएका अध्ययनअनुसार मानिसको मृत्युका कारणमध्ये सो कारण तेस्रो नम्बरमा परेको बताइएको थियो ।

अध्ययनअनुसार गर्मी बढेपछि मानिसको शरीरले धेरै पानी बाहिर फ्याँक्न खोज्छ । यस कारण ‘हाइपर कोगुलेबल’ को अवस्था सिर्जना हुन्छ । यस अवस्थामा शरीरमा ग्लुकोजको मात्रामा एकदमै कमी आएर मानिसको तत्काल ज्यान जाने खतरा बढी हुन्छ । यसले शरीरमा पानीको अभाव बढेर स्ट्रोकको सम्भावना बढ्न थाल्छ ।

प्रतिक्रिया