राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोक्ने शिक्षामन्त्रीको निर्णय गलत : नगरप्रमुख आलम

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर मोहमद राजिक आलमले नेपाल सरकारका शिक्षा मन्त्रीले विद्यालयको विकासका लागि लागू भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरेर गलत निर्णय गरेको बताएका छन् ।

आइतबारका दिन राजपुर नगरपालिका– १ मा स्थापना भएको बृहस्पति इंगलिश बोर्डिङ स्कुल प्रालिको उद्घाटन समारोहमा सम्बेधन गर्दै नगरप्रमुख आलमले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकेको शिक्षा मन्त्रीको कार्प्रीति आपत्ति जनाएका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय भवन निर्माणमा सहयोग पुग्ने हुँदा कार्यान्वयनमा रोक लगाउनु मन्त्रीस्तरको निर्णय विद्यायल पूर्वाधारविरुद्ध रहेकाले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । निजी विद्यालयको शिक्षा विकासमा ठूलो योगदान रहेको जिकिर गर्दै नगरप्रमुख आलमले अध्ययन अध्यापनमा स्तरीयता ल्याउनुपर्ने सञ्चालकलाई निर्देशन समेत दिए ।

नगरपालिकाले निजी तथा सामुदायिक विद्यालयको विकासका लागि प्राथमिकतामा राखेको भन्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षाको नतिजा प्रकाशन गर्दा अभिभावकलाई अनिवार्यरुपमा सहभागिता गराउनुपर्नेमा उनले सुझाव दिए । उनले विद्यालयमा पढ्ने बालबालिकालाई अनावश्यक तनाव दिनुभन्दा बढी बिद्यालयमा नियमित गए–नगएको बारेमा चासो राखिदिन अभिभावकलाई आग्रह गरे ।

राम्रो अंक ल्याउने बालबालिकालाई नगरपालिकाबाट छात्रवृत्ति प्रदान गर्ने र उच्च शिक्षा अध्ययन गर्ने बालबालिकालाई पनि प्रोत्साहन गर्ने योजना बनाउन लागेको र छिटै लागु गर्ने योजनासमेत रहेको उनले उल्लेख गरे । उद्घाटन कार्यक्रममा वडाअध्यक्ष शेख अमरूल हकले निजी विद्यालय सञ्चालन हुनु राम्रो रहेको बताउँदै विद्यालयको विकास तथा बालबालिकालाई चाहिने शैक्षिक सामग्री, खेलकूद सामग्रीको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

बेनी पण्डितको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा विभिन्न वक्ताहरुले विद्यालयको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । विद्यालय प्ले ग्रुपदेखि ८ कक्षासम्म सञ्चालन हुने प्रध्यानाध्यापक अनुपमा कुमारीले जानकारी दिइन् ।

प्रतिक्रिया