अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा धुमधाम छठ पर्व मनाइँदै

वीरगञ्ज । तराई मधेसमा आज हर्षोल्लासपूर्वक चैती छठ पर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने चैती छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वीरगञ्जस्थित घडिअर्वा पोखरी, जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा बिहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामीण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन वर्तालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम तथा निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यतिबेला आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिँगारिएको छ । खास गरी वीरगञ्जस्थित घडिअर्वा पोखरी, जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई नवदुल्ही झैँ सजाइएर झकिझकाउ बनाइएको छ ।

घाटहरुमा लगाइएको झिकमिके बलले रातिको समयमा झनै मनमोहक देखिन्छ । यस्तै मिथिलाञ्चलको गाउँघर, सहर बजारलगायत गल्लीमा गुञ्जिइरहेको छठ पर्वको नानाथरी समधुर गीत मिथिलाञ्चलको रौनकता नै बदलिएको छ । पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जागराम बसेर श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरी भोलि पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र छठ पर्व सकिने छ ।

प्रतिक्रिया