हत्या आरोपमा फरार रहेका नुरुल्लाह पक्राउ

रौतहट । कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार रहेका एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेका छन् । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ११ महिनादेखि फरार रहेका आरोपितलाई सार्वजनिक गरेको हो ।

जिल्लाको देवाही गोनाही नगरपालिका– १ करुनिया निवासी ७८ वर्षीय शेख तैयबलाई २०८० जेठ ११ गते बिहान ३ बजेको समयमा गोली हानी हत्या गरी फरार रहेका स्थानीय ५२ वर्षीय शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शेख सेराजसमेत संलग्न रहेको कर्तव्य ज्यान मुद्दामा २०८० पुस १६ गते रौतहट जिल्ला अदालतबाट वारेन्ट जारी भई खोज तलासको क्रममा रौतहटको राजदेवी नगरपालिका–८ बेलबिछवा चोकमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।

उक्त घटनाका अन्य आरोपितको खोजतलास गर्ने कार्य जारी रहेको बताउँदै पक्राउ परेका नुरुल्लाहलाई हिरासतमा राखिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । यसअघि पूजारी श्री राम साहको हत्यामा संलग्न रहेका नुरुल्लाह जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया