अब सुत्नेछैन ठमेल–दरबारमार्ग !

काठमाडौं । संघीय राजधानी काठमाडौँका २ पर्यटकीय बजारहरू ठमेल र दरबारमार्गमा पूर्ण समय (चौबिसै घन्टा) व्यवसाय सञ्चालन सुरु भएको छ । यससँगै अब यहाँका व्यवसायहरू चौबिसै घन्टा खुल्नेछन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शनिबार औपचारिक कार्यक्रमका बीच ठमेल र दरबारमार्ग चौबिसै घन्टा खुला गर्ने अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा गृहमन्त्री लामिछानेले आमाको निद्रा र छोराको सपना दुवै पूरा गर्ने संकल्पसहित यी क्षेत्र चौबिसै घन्टा खुला गर्ने निर्णय भएको बताए । उनले भने, ‘स्थानीयका जायज चासोको सम्बोधन गरिन्छ । आमाको निद्रा र छोराको सपना दुवै पूरा गर्नेछौँ । यहाँका विकृति–विसंगति अन्त्यका लागि सामूहिक प्रयासको खाँचो छ ।’

उनले यो ऐतिहासिक सुरुआत भएको र यसले सकारात्मक सन्देश जाने भन्दै काठमाडौँ चलायमान सहर बनाउनुपर्ने बताए । यहाँको अनुभवका आधारमा अन्य ठाउँमा पनि यस्तो योजना लागू गरिने उनको भनाइ छ । यस क्षेत्रका व्यवसायी, कर्मचारी, पर्यटक सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूति गरिने प्रतिबद्धता जनाउँदै उनले योजना सफल बनाउन सबैको दायित्व हुने हुँदा त्यसमा ध्यान दिन आग्रह गरे ।

संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि यो अभियान सुरु गरेको भन्दै उनले जब छोरीचेली र आमाहरू निर्बाध यहाँ आउने वातावरण बनाउन सकिन्छ, तब मात्र यो अभियान सफल हुने दाबी गरे । उनले भने, ‘हामी राम्रो कति गर्न सक्छौँ थाहा छैन । नराम्रोचाहिँ एउटा पनि गर्नेछैनौँ । नयाँ दल हुनुको परिचय कामबाटै दिन्छौँ ।’

गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्न लागिएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ । रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको बताइएको छ भने यस स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया