आशाभन्दा बढी निराशामा बित्यो २०८० साल

देश बन्दै होइन, बिग्रँदै छ भन्ने लागेकै कारण आफ्नो भविष्य नदेखेर युवाहरू बिदेसिने क्रम बढेको हो । जनतामा निराशा उत्पन्न गराउने काम राजनीतिकदलहरूले आफ्नो स्वार्थका लागि गरेका हुन् । तर, यसको मारमा देश नै परेको छ । भोट बटुल्न र सत्तामा जानका लागि जे पनि भन्न र जे पनि गर्न दल तथा राजनीतिकर्मीहरू तयार छन् । जनतामा असीमित महत्वकांक्षा जगाउने काम दल तथा राजनीतिकर्मीहरूले नै गरेका हुन् । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको भूपरिवेष्टित देशका निश्चित वाध्यताहरू छन् । यी वाध्यताका बारेमा जनतालाई सचेत बनाउनुको सट्टा पाँच वर्षभित्र सिंगापुर बनाइदिन्छु भन्दै भाषण गर्ने नेता मुख्य दोषी हुन् । भविष्य असुरक्षित छ भन्ने लाग्यो भने मान्छेलाई जे जसरी भए पनि छिटो सम्पत्ति जम्मा गर्ने भोक जाग्छ । यही भोकले ठगी र भ्रष्टाचार बढाउँछ । अहिले नेपालमा यस्तै भइरहेको छ ।

विक्रम संवत २०८० समापन भएर आजदेखि २०८१ साल आरम्भ भएको छ । आरम्भको दिनलाई नयाँ वर्ष भन्ने चलन छ । नयाँ सालको सुरुआतलाई नयाँ उमंगका साथ मनाउने चलन छ । विश्वमा धेरै संवतहरू छन् । हामी नेपालीहरू सरकारी कामकाजका रूपमा विक्रम सम्वत् मनाउँछौँ । धार्मिक संस्कार तथा संस्कृतिहरू नेपाल संवतको क्यालेन्डरअनुसार मनाउँछौँ ।

साल परिवर्तन अनन्तकालीन समय चक्र हो । बितेको साल फेरि फर्कंदैन । तर, बितेको सालको अनुभवका आधारमा नयाँ सालका लागि मार्गचित्र तय गरिन्छ । यो कुरा हरेक व्यक्ति, परिवार, समाज तथा देशको हकमा लागू हुन्छ । नेपालका सन्दर्भमा भन्नुपर्दा बिदा हुँदै गरेको २०८० साल अघिल्लो वर्षको तुलनामा कम उतारचढाव र धेरै हदसम्म सन्तोषप्रद रह्यो ।

जाजरकोट भूकम्प, बाढीपहिरोका केही घटनाबाहेक २०८० सालमा विगतका जस्ता अकल्पनीय तथा दुःखदायी घटनाहरू खासै भएनन् । यस अर्थमा नेपालका लागि २०८० साल खासै नराम्रो भएन । २०८० सालमा विश्वमा के के महत्वपूर्ण घटना भए ? दुःखद् घटना के कति भए, सुखद् घटना के कति भए ? किन र कसका कारणले घटना भए ? भन्ने समीक्षा यतिबेला भइरहेको छ । इतिहासको लामो कलखण्डसम्म स्मरणमा आइरहने प्रकृतिका घटना तथा परिवर्तनहरू २०८० सालमा के कति भए ? भन्ने प्रश्न यहाँनिर सबैभन्दा महत्वपूर्ण हुन्छ । यो आलेख यसै सेरोफेरोमा केन्द्रित छ ।

महत्वपूर्ण विश्व घटना

सरसर्ती हेर्दा २०८० सालमा विश्व जगतले कुनै पनि क्षेत्रमा यो उपलव्धी हासिल ग¥यो भनेर गौरव गर्नुपर्ने अवस्था रहेन । रुस र युक्रेनको लडाइँ रोक्न संयुक्त राष्ट्र संघको शान्ति प्रयास असफल भइरहँदा इजराइल र प्यालेस्टाइनको हमासबीच अर्को ठूलो युद्ध सुरु भयो । रुस र युक्रेन युद्धसँग नेपालको लेनादेना छैन, तैपनि यो युद्धले नेपाल नराम्रोसँग प्रभावित भइरहेको छ । यसैगरी इजराइल र हमासबीचको युद्ध पनि नेपालका लागि सरोकारको विषय होइन, तर यो युद्धले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ ।

जमना बदलिएको छ । विश्वमा करिब दुई सय देशहरू छन् । त्यसमध्ये करिब १ सय ८० वटा देशमा नेपालीहरू कार्यरत छन् । त्यसैले विश्वका हरेक कुनाकाप्चामा जे जस्ता घटना तथा दुर्घटना हुन्छन्, त्यसमा नेपाल अछुतो रहन सक्ने अवस्था छैन । रुस–युक्रेन तथा इजराइल– हमासबीचको युद्धलाई बाहिर राख्ने हो भने २०८० साल लाई नराम्रो भन्न मिल्दैन । यी दुई युद्धहरू पनि २०८० सालका उपज होइनन्, विगतदेखि नै गिजोलिएका घाउहरू प्रकट भएका मात्रै हुन् ।

रुस–युक्रेन युद्धमा नेपालीहरू पनि दुवै पक्षमा सहभागी भएका छन् । तर, कति नेपाली मारिइसके ? भन्ने एकिन तथ्यांक आएको छैन तर चर्चा भने ज्यादै डरलाग्दो छ । रुसी सेनामा करिब २५ हजार नेपाली युवा भर्ना भइसकेको र त्यसमध्ये १० प्रतिशत मारिइसकेको अपुष्ट समाचारले देशभर चिन्ता छाइरहेको छ ।

यसैगरी, गत भदौमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको हमलापछि अहिले उक्त क्षेत्र पुनः द्वन्द्वग्रस्त छ । गाजापट्टीबाट भएको उक्त हमलामा १२ सयभन्दा बढीको ज्यान गएको थियो भने २४० जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलको जवाफी आक्रमणमा अहिलेसम्म १०औँ हजारको मृत्यु भएको छ जसमा अधिकांश बालबालिका छन् भने गाजापट्टीका लगभग ९० प्रतिशत बासिन्दा विस्थापित भएका छन् । इजरायलले हमासमाथि गरेको जवाफी प्रत्याक्रमण ज्यादै भयावह छ । यो युद्धमा १० नेपाली मारिएका छन् । एक जना नेपाली विपिन जोशी अहिले पनि हमासको कब्जामा छन् ।

नेपालका महत्त्वपूर्ण घटना

नेपालको सन्दर्भमा भन्नुपर्दा जाजरकोट भूकम्प, ललितपुरको बालकुमारीमा भड्केको हिंसा ज्यादै नै दुःखद् हुन् । पुस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा अत्यन्त दुःखद् घटना भयो । जायज माग राखेर अन्दोलनमा उत्रेका दुई जना युवक प्रहरीको गोलीबाट मारिए । धरान, नेपालगन्जलगायत केही क्षेत्रमा धार्मिक हिंसा भड्काउने प्रयास भए, तर यी प्रयासलाई नागरिक समाज तथा राज्यले समयमै नियन्त्रणमा लिएका कारण त्यति ठूलो क्षति हुन पाएन ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाअघि एक वर्षको कार्यकाल पूरा गरे । एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीको नाममा गरेको सम्बोधनले जनतालाई आशा जगाउन सकेन । सीमित उपलब्धि गरेको प्रचण्ड सरकार यो अवधिमा बेलाबखत विभिन्न विवादमा पनि आइरह्यो । प्रधानमन्त्री प्रचण्ड स्वयं सत्ता समीकरण परिवर्तन तथा राजनीतिक अस्थिरताका कारक बनिरहे ।

यही वर्ष विमानस्थलबाट तस्करी गरिन लागेको ‘१०० किलो’ सुन बरामद भएको भनिए पनि तौल यकिन गर्दा झन्डै ६१ किलो रहेको पाइयो । भने नक्कली शरणार्थी प्रकरणमा ‘ठूला’ नेता र कर्मचारीहरू जेल चलान पनि गरिए, यद्यपि तीमध्ये केही अहिले धरौटीमा छुटेका छन् । भदौ महिनामा ललिता निवास प्रकरण सम्बन्धित केही निर्णयहरू आए । यसका साथै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राजतन्त्र फर्काउने आन्दोलन’बारेका खबरले पनि सञ्चारमाध्यममा राम्रो स्थान पाए ।

यसैगरी, कत्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुममा लगभग १५० भन्दा बढीको मृत्यु भयो भने उक्त विपत्तिमा करोडौँ बराबर धनमालको क्षति भयो । अदालतले नाबालिका बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको समाचारले पनि ठूलै तरंग ल्याइरहेको छ ।

राजनीतिक दृष्टिले २०८०

कुन वर्ष कस्तो रह्यो ? देशले के कस्तो उपलब्धी हासिल ग¥यो ? भन्ने समीक्षा गर्नुपर्दा राजनीति नै सबैभन्दा अघि आउँछ । किनकी राजनीति भनेको सबै नीतिहरूको मियो हो । सत्तामा रहनेहरूले मौकाको सदुपयोग के कसरी गरे ? भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । यस हिसाबले २०८० साललाई पनि राजनीतिक विकृतिको वर्ष भन्दा फरक पर्दैन ।

२०८० सालको प्रारम्भमै मुलुकका तीन वटा संसदीय क्षेत्रमा भएको निर्वाचनमा पुराना र ठूला राजनीतिकदलहरूले करारी हार बेहोरे । जनताले दण्डित गरे । २०७९ साल मंसिरमा सम्पन्न आमनिर्वाचनमा नवोदित पार्टीका रूपमा बाजी मारेको रास्वपाले २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा ठूला र पुराना राजनीतिकदलहरूको मुटुमै घण्टी बजाइदियो । तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले निकै फराकिलो मत अन्तरका साथ चुनाव जित्यो । यी दुवै क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारको कन्तविजोग भयो ।
तनहुँ क्षेत्र नं १ बाट रास्वपाका उम्मेद्वार स्वर्णिम वाग्ले ३४ हजार बढी मत ल्याएर विजयी भए । चितवन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछानेले कुल खसेको मध्ये करिब ७० प्रतिशत मत ल्याएर चुनाव जिते ।

यो एक वर्षको अवधिमा राप्रपाबाहेक राष्ट्रिय मान्यता प्राप्त सबै राजनीतिकदलहरू सत्तामा पुगे । तर, सबैभन्दा फलिफाप भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भयो । तैपनि ठूला र पुराना राजनीतिकदलहरूले चेतेको देखिएन । २०७९ सालमा जस्तै २०८० सालमा पनि देशले सत्ता समीकरण परिर्तनको पीडा बेहोर्नुप¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक दाउपेचभन्दा बाहिर निस्कन सकेनन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय सरकारमा मात्रै सत्ता समीकरण परिवर्तन गर्नु भएन, प्रदेश सरकारमा त कन्तविजोग भयो । यतिसम्मकी २०८० साल भित्रमा कोसी प्रदेशमा पाँचपटक सरकार परिवर्तन भयो । एकै वर्षमा पाँचपटक सरकार परिवर्तन हुनु भनेको सामान्य अवस्था होइन । मधेसबाहेक अरू प्रदेशमा दुईपटक सरकार परिवर्तन भए ।

२०८० पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा भएको फेहरिस्त प्रस्तुत गर्दा जनता थप निराश भए । प्रधानमन्त्री प्रचण्डले फागुन २२ गते नेपाली कांग्रेसलाई सरकारबाट बिस्थापित गरी नेकपा एमालेलाई भित्र्याए । नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सामेल भयो ।

कुनै पार्टीको पनि बहुमत नभएको र सत्ताबाहेक दायाँबायाँ हेर्न दलका नेताहरूले छाडिसकेको अहिलेको अवस्थामा एकाएक सत्ता समीकरण परिवर्तन हुनु अस्वभाविक होइन । त्यसैले सत्ता समीकरण परिवर्तनको खेललाई सर्वसाधारण जनताले खासै चासो दिएको देखिएको छैन ।

गत आमनिर्वाचन सम्पन्न भए यताको १५ महिनाको अवधिमा तीनपटक सत्ता समीकरण परिवर्तन भइसकेको छ । २०७९ पुस १० गते भएको सत्ता समीकरण परिवर्तनको कारण जनताले थाहा पाएका थिए । त्यतिबेला प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेको साथ लिएका थिए । किनकी प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यतिबेला कांग्रेस तयार भएको थिएन । त्यसैगरी सोही वर्षको चैतमा एमाले सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा भित्रिनुको कारण राष्ट्रपति पदको निर्वाचन थियो ।

प्रधानमन्त्रीका लागि प्रचण्डलाई साथ दिएको एमालेले राष्ट्रपतिका लागि प्रचण्डको साथ खोजेको थियो, तर प्रचण्डले धोका दिएका कारण एमाले बाहिरियो । तर, यसपटक किन र के का लागि सत्ता समीकरण परिवर्तन भएको हो ? भन्ने कुरा जनताले थाहा पाएका छैनन् ।

भ्रष्टाचार नियन्त्रणको प्रयास

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, गिरिबन्धु टी स्टेटले चर्चेको सरकारी जग्गा, सहकारी ठगीलगायत विगतका धेरै प्रकरणहरू यस वर्ष सतहमा आए । सुन काण्डका तस्कर पक्राउ परे, एनसेलको सेयर खरिद बिक्री, टेराम्याक्स घोटाला लगायतका भ्रष्टाचारका धेरै प्रकरणहरू सतहमा आएका मात्रै छैनन्, अनुसन्धान तथा छानविन प्रक्रिया अघि बढाइएको छ । वाइडबडी विमान खरिद, यति काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्ड लगायतका फाइल अघि बढ्ने प्रक्रियामा छन् ।

बहालवाला सत्ता सञ्चालकहरू यो एक वर्षको अवधिमा भ्रष्टाचारको काण्डमा मुछिएका समाचार आएका छैनन् । तर, पूर्ववर्ती सत्ताधारीहरू भने धेरै जना पक्राउ परे । २०८० सालको प्रारम्भमै वैशाखको अन्तिम साता नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा ठूलो तरंग उत्पन्न गरायो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जघन्य अपराधमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत धेरै पहुँचवाला व्यक्ति पक्राउ परे । अपराधको यो चेन तत्कालीन प्रधानमन्त्रीहरूसम्म पुगेको अनुमान गरियो । तर, यो कुरा कानुनद्वारा पुष्टि हुन सकेन ।

प्रहरीको मेलोमतोमा भएको डेढ क्विन्टेल सुन तस्करीले साउनको पहिलो साता देशलाई खुब ततायो । कसको होला यो डेढ क्विन्टेल सुन ? भन्ने प्रश्न धेरैले गरे । कुनै बेला अन्तर्राष्ट्रिय क्षेत्रका कुख्यात तस्कर चाल्र्स शोभराजले भनेका थिए, ‘नेपालको एयरपोर्टबाट हात्ती कटाउन सकिन्छ ।’ चाल्र्स शोभराजको यो भनाइ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पटकपटक पुष्टि हुने गरेको छ । साउन ३ गते पनि चाल्र्स शोभराजको यो भनाइ पुष्टि भयो । करिब डेढ क्विन्टेल सुन तस्करीमार्फत एयरपोर्टबाट भित्रिएको रहस्य खुल्यो ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगल क्षेत्रमा बा २ ज २३२४ नम्बरको ट्याक्सी रोक्यो । ट्याक्सीमा थिए चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई । विभागको टोलीसँगै सादा पोसाकमा रहेको सशस्त्र प्रहरी बलको प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर ललितपुरको हरिहरभवनमा लग्यो । ट्याक्सीमा रहेको सामान क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट नेपाल भित्रिएको थियो ।
सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा चैत ५ गते बिहान पक्राउ परे । पक्राउ पर्ने सुइँको पाएपछि उनी भारत प्रवेश गर्ने तयारी स्वरूप कपिलबस्तुको चाकरचौडा नाका नजिकैको पकडी गाउँ पुगेका थिए । माओवादी नेता वकिल मुसलमानको पकडीस्थित घरबाट प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमै पक्राउ परेका महराका छोरा राहुल महरा लामो समयदेखि पुर्पक्षका लागि थुनामा छन् । उपराष्ट्रपतिसमेत भइसकेका माओवादीका प्रभावशाली नेता नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि पक्राउ परिसकेका छन् । माओवादीका अर्का नेता जीवन चलाउनेलाई पक्राउ गर्ने तयारीमा प्रहरीले रेड कर्नर नोटिस जारी गरिसकेको समाचार आएको छ ।

निराशा नै निराशाको वर्ष

यो वर्ष जनतामा थप निराशा बढेर गएका देखियो । युवाहरू विदेश पलायन हुने क्रम यो वर्ष ह्वात्तै बढेको छ । यो हालतमा सुधार हुन सकेन भने देशको भविष्य राम्रो छैन भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ । २०८० सालमा मात्रै करिब २० लाख नेपाली बिदेसिएको तथ्यांक छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिड हेर्ने हो भने नेपाल केही वर्षभित्रै रित्तिने पो हो कि ? भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ ।

सन् २०२३ मा मात्रै ७१ हजार नेपालीहरूले स्थायी बसोबासका लागि देश छाडेको कुरा आधिकारिक रूपमै खुलाएको अध्यागमन विभागले जनाएको छ । विवरण नखुलाई स्थायी बसोबासका लागि बिदेसिनेहरूको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान अध्यागमन विभागको छ । किनकी विदेशमा रहेका आफन्त भेट्न जाने प्रयोजनका लागि २०२३ मा नेपाल छाड्नेहरूको संख्या १ लाख ६७ हजार ४ सय ८५ छ । विदेशमा रहेका आफन्त भेट्न जानेमध्ये आधाजसो उतै बस्ने गरेको विगतको अनुभव छ ।

यसैगरी अस्थायी बसोबासका लागि विदेश जानेहरूको संख्या ९१ हजार ३ सय ४९ छ । अस्थायी बसोबासका लागि भनेर जानेहरू पनि अधिकांश नफर्केने गरेको र उत्तै स्थायी बसोबास गर्ने गरेको तथ्यांक छ । यसैगरी यो वर्ष १ लाख ८ हजार ५ सय ४२ जना विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि बिदेसिएका छन् । उच्च शिक्षा अध्ययनका लागि बिदेसिने युवाहरू पनि प्रायःजसो स्थायी रूपमा उतै बस्ने चलन छ । पर्यटकीय भिसामा जानेहरू मध्ये कतिपय बिभिन्न बहानामा उतै बस्ने गरेका छन् । यो वर्ष २ लाख ४ हजार ५ सय १८ जना पर्यटकीय भिसामा विदेश गएका छन् । यसरी हेर्दा २०८० मा मात्रै करिब पाँच लाख नेपालीहरू स्थायी बसोवासका लागि बिदेसिएको अनुमान लगाउन गारो छैन ।

देशको वैदेशिक तथा आन्तरिक ऋणको बढ्दो आँकडा हेर्ने हो भने नेपाल केही वर्षभित्रै आर्थिक रूपमा टाट पल्टने पो हो कि ? भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । देशको आम्दानीले कर्मचारीको तलब भत्ता पुग्दैन, तर कर्मचारीहरू आफ्नो सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । घरपायक स्थायी सरकारी जागिर छाडेर दलाललाई पौने करोडसम्म बुझाइ तल्लोबाटोबाट अमेरिका जाने कर्मचारीहरूको संख्या उल्लेख्य छ ।

राष्ट्रिय सेना र प्रहरीको जागिर छाडेर युद्धरत रसियन सेनामा भर्ती हुन जानेहरूको ताँती छ । कृषिप्रधान भनिने देशमा २०८० सालमा मात्रै करिब चार खर्ब रुपैयाँ बराबरको कृषि तथा वनजन्य बस्तुको आयात भएको छ, तर नेपाली किसानहरू आफ्नो कृषिउपज बिक्री नभएर हैरान छन् । निजी क्षेत्रका श्रमिकहरूको कुरा गर्ने हो भने सरकारले तोकेको न्यूनतम ज्याला नै मासिक १५ हजार रुपैयाँ हो । यो रकम भनेको गरिबीको रेखामुनि रहेका नेपालीले गर्ने औषत कमाइ हो । त्यसमा पनि न्यूनतम ज्यालामा काम लगाउनसमेत रोजगारदाता तयार छैनन् ।

व्यापार व्यवसायको कुरा गर्ने हो भने राजधानी काठमाडौंमै करिब २० प्रतिशत सटर खाली भइसकेका छन् । ठगी, लुटपाट तथा महँगीले आकाश छोएको छ । मिटरब्याज पीडित, लघुवित्त पीडित, सहकारी पीडितलगायत पीडितै पीडितको भिड बढेको छ । दण्डहीनता बढेर गएको छ । यी आँकडाहरू विश्लेषण गर्ने हो भने २०८० सालमा पनि देशको ओरालो गतिले तीव्रता पाएको देखिन्छ । सत्तामा रहनेहरूको गलत रबैयाका कारण जनताको मन विचलित भएको छ ।

देश बन्दै होइन, बिग्रँदै छ भन्ने लागेकै कारण आफ्नो भविष्य नदेखेर युवाहरू बिदेसिने क्रम बढेको हो । जनतामा निराशा उत्पन्न गराउने काम राजनीतिकदलहरूले आफ्नो स्वार्थका लागि गरेका हुन् । तर, यसको मारमा देश नै परेको छ । भोट बटुल्न र सत्तामा जानका लागि जे पनि भन्न र जे पनि गर्न दल तथा राजनीतिकर्मीहरू तयार छन् । जनतामा असीमित महत्वकांक्षा जगाउने काम दल तथा राजनीतिकर्मीहरूले नै गरेका हुन् । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको भूपरिवेष्टित देशका निश्चित वाध्यताहरू छन् । यी वाध्यताका बारेमा जनतालाई सचेत बनाउनुको सट्टा पाँच वर्षभित्र सिंगापुर बनाइदिन्छु भन्दै भाषण गर्ने नेता मुख्य दोषी हुन् । भविष्य असुरक्षित छ भन्ने लाग्यो भने मान्छेलाई जे जसरी भए पनि छिटो सम्पत्ति जम्मा गर्ने भोक जाग्छ । यही भोकले ठगी र भ्रष्टाचार बढाउँछ । अहिले नेपालमा यस्तै भइरहेको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने मेधावी शिक्षार्थीहरूको विदेश पलायन जारी नै छ । बजारको महँगाइले शिखर छोएको छ । स्वदेशमा रोजगारी गरेर जीविकोपार्जन चल्ने अवस्था छैन । फलस्वरूप जता हे¥यो त्यतै घुसखोरी, कमिसन, भ्रष्टाचार र दुराचारको राज छ । ‘लुट्नसके लुट कान्छा, लुट्नसके लुट ! अरू देशमा पाइँदैन, नेपालमै हो छुट !!’ चरितार्थ भइरहेको देखिन्छ ।

नयाँ वर्ष २०८१ ले हाम्रो मुलुकका नीति निर्माण तथा कार्यन्वयन तहमा बस्नेहरूलाई सद्वुद्धि देओस् । नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया