लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । महराको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत प¥यो । प्रदेशसभामा कांग्रेसका २७ र जनमत पार्टीका ३ सांसद छन् । यस्तै, ३ सांसद रहेको राप्रपा तटस्थ बस्यो भने लोसपाका ३ सांसद बैठकमा उपस्थित नै भएनन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको सर्मथन आवश्यक पर्नेमा ४८ मत परेपछि सभामुखले विश्वासको मत पाएको घोषणा गरेका हुन् । ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख तुलाराम घर्ती मगरले भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कुल सदस्य संख्या ८६ जनाको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’

यसअघि बैठकमा विश्वासको प्रस्ताव राख्दै मुख्यमन्त्री महराले सबैको अपनत्व हुने गरी काम गर्ने भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए । उनले आफ्नो नेतृत्वको सरकारले वार्षिक तालिका (क्यालेन्डर) बनाएर विकासका योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वका कारण संघीयता कार्यान्वयन हुन नसकेको आरोप लगाए । उनले संघीयता कार्यान्वयन गरेर प्रदेश संरचनालाई बलियो बनाउने कार्यमा आफ्नो दलको समर्थन रहने पनि बताए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएर प्रदेशको भागबन्डा हुँदा लुम्बिनी प्रदेश माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी संसदीय दलका नेता महरा २३ चैतमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी दलको समर्थनमा २३ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया