बिरामी जाँच्ने स्वास्थ्यचौकी आफैँ घाइते

जीर्ण भवनबाट उपचार सेवा

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित ल्वाङ घलेल स्वास्थ्यचौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ । साविकको ल्वाङ घलेल गाविसमा २०४५ सालमा स्थापना भएको उक्त स्वास्थ्यचौकी २०७२ सालको भूकम्पले भत्किँदा जीर्ण बनेको थियो ।
‘स्वास्थ्यचौकी आफैँ घाइते छ । बिरामी भएर जाँदा पनि निकै डर हुन्छ’, माछापुच्छ«े–९ सैतीघट्टकी धनमाया तामाङले दुःखेसो सुनाए । घर नजिकै रहेको उक्त स्वास्थ्यचौकी जीर्ण भए पनि अहिलेसम्म नयाँ नबनेको उनले गुनासो गरे ।

‘जाँच्न जाँदा पनि कतै भत्किएर पुरिन्छ कि भन्ने चिन्ताले सताउँछ’, तामाङले भने, ‘धेरै पुरानो घर हो । काठहरू सबै पुरानो भइसकेका छन् ।’ सरकारले नयाँ भवन निर्माण गरी सहज र भयरहित स्वास्थ्य दिनुपर्नेमा उनले जोड दिए ।

२०४५ सालमा निर्माण भएको उक्त भवनको माटो र ढुंगाको गारो चर्किएका छन् । ढुंगाले छाएको छानो अड्याउन टेको लगाइएको छ । बिरामी जाँच्ने थलो ल्वाङ घलेल स्वास्थ्यचौकी आफैँ घाइतेजस्तै देखिने गरेको स्थानीय बताउँछन् ।

२०७२ सालको भूकम्पपछि भवन पूर्णरूपमा जीर्ण बनेको स्वास्थ्यचौकीका सिनियर अहेब हरिबहादुर मल्लले बताए । ‘भूकम्पको समयमा भित्ता केही चर्किएको थियो । त्यसपछि छानो अड्याउने काठ नै भाँचियो । अनि हामीले नै टेको लगाएर अड्याएका हौँ’, उनले भने, ‘विविध कारणले अहिलेसम्म नयाँ भवन बनेको छैन, टेकोकै भरमा धानिएको छ ।’

जीर्ण भवनबाट त्रासैत्रासमा सेवा दिनुपरेको अहेब मल्लले बताए । ‘मनमा एकदमै डर भइरहन्छ । बिरामीलाई असर पर्छ कि भन्दै जाँच्नुपर्छ’, उनले भने, ‘हामी पनि यहाँ बसिरहँदा भत्केर दुर्घटना हुन्छ कि भनेर त्रास रहिरहन्छ ।’ भवन जीर्ण हुँदा टेको भत्किने मात्र नभए पानी चुहिने अनि भलपानी भवनभित्र पस्ने समस्या रहेको उनले जानकारी दिए ।

भवनको अवस्थाले गर्दा सेवाग्राहीसमेत घटेको स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट सक्रिज लामिछानेले बताए । उनका अनुसार हाल दैनिक १०–१२ जना बिरामी मात्रै जाँचका लागि आउँछन् । यसअघि दैनिक ३५ जनाको हाराहारीमा बिरामीलाई सेवा दिँदै आइएको उनको भनाइ छ ।

भवनको तीन वटा कोठामध्ये बीच कोठाको धुरी अड्याउने काठ भाँचिए पनि अन्य दुई कोठा सामान्य रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताए । ‘भवन बनेको लामो समय भइसकेको छ । बीच कोठाको छानो झर्नै लागेको छ । हावाहुरी लाग्दा अन्तै गएर बस्नुपर्छ’, उनले भने, ‘हामीले नयाँ भवन बनाउनका लागि वडाध्यक्षलाई भनिरहेका छौँ । अध्यक्षज्यूले पनि सकेको पहल गरिरहनुभएको छ ।’

यो स्वास्थ्यचौकी माछापुच्छ्रे मोडल पदमार्गअन्तर्गत पर्दछ । पदयात्रामा निस्कने विदेशी तथा आन्तरिक पर्यटकले स्वास्थ्यचौकीबाट लाभ लिने हुनाले पनि यसको टेको हटाएर भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको हेल्थ असिस्टेन्ट लामिछानेले बताए । उनका अहिले चौकीमा एक हेल्थ असिस्टेन्ट, एक सिनियर अनमी, एक सिनियर अहेब र एक कार्यालय सहयोगी गरी चार जना कर्मचारी छन् ।

‘हामीसँग पाँच जना प्राविधिक कर्मचारी हुनैपर्ने हो । अहिले एक जना कार्यालय सहयोगीसहित चार जना छौँ’, हेल्थ असिस्टेन्ट लामिछानेले भने, ‘एक जना नर्स र एक जना पारामेडिक्सको कमी छ । हामीले जीर्ण भवन र कम कर्मचारीका बीच पनि स्थानीयलाई राम्रो स्वास्थ्य सेवा दिने प्रयत्न गरिरहेका छौँ ।’

नयाँ स्वास्थ्यचौकी भवन निर्माणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको माछापुच्छ«े–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए । ‘वडाध्यक्षका साथै म सामाजिक विकास समितिको पनि संयोजक हुँ । मेरो वडामा सञ्चालित स्वास्थ्य संस्थाको यो अवस्था हुँदा आफैँ लज्जित छु’, उनले भने, ‘यसका लागि कार्यपालिकाले निर्णय गरेर संघीय सरकारसँग विशेष योजना माग गरिएको छ ।’

संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा विशेष योजनामार्फत भवनको योजना नपरेमा गाउँपालिकाबाट बनाउने वडाध्यक्ष क्षेत्रीले बताए । ‘यो वर्ष संघीय सरकारबाट नै स्थानीय तहलाई दिने विशेष अनुदानको योजनामा स्वास्थ्यचौकी पर्छ भन्नेमा हामी ढुक्क छौँ’, उनले भने, ‘नपरेको खण्डमा गाउँपालिकाबाट अन्य वडाको बजेटको सिलिङ घटाएर भए पनि काम गर्नेछौँ ।’

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले स्वास्थ्यचौकीलाई चालु आर्थिक वर्षमा तीन लाख छुट्याइएको बताए । उक्त रकमले सबै काम सम्पन्न नहुने भएपछि रकमान्तर गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया