५२ वर्षमा ८ कक्षा पास गर्दा खुसीले गदगद गुरुङ

हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाका करिब ५२ वर्षीय सन्तबहादुर गुरुङले कक्षा–८ को परीक्षा उत्तीर्ण गरेका छन् । थाहा नगरपालिका–५, फुर्केबसन्त निवासी गुरुङले नियमित विद्यालय छाडेको ३८ वर्षपछि ८ कक्षा पास गरेका हुन् । थाहा नगरपालिका–१ मा रहेको झम्केश्वरी माविमा भर्ना भएका गुरुङ चैत १ गते सुरु भएको थाहा नगरस्तरीय कक्षा–८ को परीक्षामा सहभागी भएका थिए ।

नगरपालिकाले नगरस्तरीय आधारभुत शिक्षा (कक्षा–८) को परीक्षाफल प्रकाशन गरेपछि गुरुङ उत्तीर्ण भएको खबर आयो । उक्त खबरले उनी खुसीले गद्गद् भए । ८ कक्षा उत्तीर्ण भएपछिको खुशी परिवारसँग साटे उनले, उनीहरूसँगै सबै खुसी भए । ‘उक्त पल सम्झँदा बडो आनन्द आउँछ’, उनले भने ।

५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा–६, ७ र ८ थाहाकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षा भने अनुत्तीर्ण भएपछि गुरुङले नियमित विद्यालय जान छाडेका थिए । विद्यालय छाड्दा उनी १४ वर्षका थिए ।

गुरुङले निकै उत्साहसाथ परीक्षा दिएका थिए । ‘परीक्षाको राम्रो तयारी गरेको थिएँ । राम्रै हुने आश थियो, सोचेजस्तै भयो’, उनले भने, ‘पास भएपछि सबैको हौसला पाएकाले उत्साह थपिएको छ । शिक्षाबिनाको जीवन कठिन भएको महसुस गरेपछि पढ्न थालेको हुँ ।’ औपचारिक शिक्षा नभएका कारण धेरै ठाउँमा पछाडि हट्नुपरेकाले खल्लो महसुस भएपछि पढ्न जाँगर लागेको उनकोे कथन छ । उत्तीर्णको नतिजापछि सबैले फोन गर्छन्, बधाई दिन्छन्, थप पढ्ने सोच बनाएको छु ।

‘कक्षाकोठा छिर्दा अनौठो लागेन ? उनले भने, ‘साना र कलिला भाइबहिनी झ्यालमा झुम्मिएर मलाई हेर्थे र हाँस्थे ।’ आफूले कक्षा–५ सम्म अध्ययन गरेको बसन्त प्राविको व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्षसमेत भइसकेका उनले भने, ‘विद्यार्थी पढेको देखेर मलाई पनि सधैँ पढ्ने चाहनाले सताउने गथ्र्याे । त्यसपछि नजिकको विद्यालयमा भर्ना भएर ८ कक्षा उत्तीर्ण गरेको हुँ । जीवनमा एउटा सफलता हात परेको महसुस भइरहेको छ ।’
गुरुङका २ छोरा र पत्नी छन् । उनका जेठो छोरा स्नातकोत्तर अध्ययनरत् छन् । कान्छा छोराले बिएससी एजी पास गरेका छन् । पत्नी मञ्जुकुमारी गुरुङले ५ कक्षा पास गरेकी छन् । उनको परिवार कृषि पेसामा निर्भर छ ।

उनी गाउँमा सामाजिक काममा क्रियाशील छन् । गाउँमा हुने विभिन्न विकास निर्माण, सडक निर्माण समिति, झोलुंगेपुल निर्माण समितिलगायत धेरै समितिमा बसेर सामाजिक काम गरिसेका छन् उनले । हाल उनी फुर्केबसन्त टोल विकास संस्था उपाध्यक्ष, सिरानघर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समिति अध्यक्ष र नेपाली कांग्रेस थाहा–५ का सभापतिको जिम्मेवारीमा छन् ।

वडा अध्यक्ष विष्णुबहादुर गुरुङले आफ्ना छोरानातिले उच्चशिक्षा हासिल गरिसकेकोले आफूलाई पढ्न मन लागेर विद्यालय भर्ना भएको बताए सुनाए । उनको पढ्ने दृढ इच्छाशक्तिले अरूलाई पनि प्रेरणा मिलेको र पढ्न उमेरले छेक्दैन भन्ने सन्देशसमेत दिएको उनले बताए । ‘भोज खुवाउनुप¥यो नि’ भन्ने प्रश्नमा उनले भने, ‘१२ कक्षा पास गरेपछि बोलाएरै भोज खुवाउनेछु ।’

थाहा नगरअन्तर्गत विद्यालयको कक्षा–८ को परीक्षामा सहभागी ९१ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । थाहा नगरपालिका शिक्षा शाखाले २५ चैतमा नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार २४ विद्यालयका ५ सय ४५ विद्यार्थी उत्तीर्ण भएका छन् । ५ सय ९३ जना परीक्षामा सहभागी थिए । नतिजाअनुसार आठ विद्यालयको नतिजा शतप्रतिशत छ ।

थाहा नगरपालिका शिक्षा शाखा विद्यालय निरीक्षक सूर्यबहादुर थिङले नगरपालिकाले अनिवार्य निःशुल्क शिक्षा कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । प्रदेशका १८ स्थानीय तहमध्ये थाहामा यस वर्ष नगरले घोषणा गर्ने तयारी गरिरहेको उनले बताए ।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

थाहा–२ ले वडाका जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । वडा अध्यक्ष एवं वडा शिक्षा समिति अध्यक्ष बमबहादुर सिन्तानको अध्यक्षतामा बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि वडाका जनप्रतिनिधि तथा सामुदायिक विद्यालयका शिक्षकले छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
बैठकले अन्य सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई पनि छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया