जितपुरसिमरा अस्पतालमा बिरामीको चाप बढ्दै

बारा । जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको जितपुरसिमरा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा सेवा सुविधा थप भएसँगै दैनिक उपचारका लागि आउने बिरामीको संख्या बढेको हो । जितपुरसिमरा अस्पतालले २४औँ घण्टा आकस्मिक सेवा सुरु गरेसँगै अब वीरगन्ज, हेटौडाँ, कलैया जाने झन्झटबाट जितपुरसिमराका स्थानीयले छुटकारा पाएका छन् । विगतमा खकार, रगत, सुगर, थाइराइड, मुटु, मिर्गौला परीक्षण गर्न वीरगन्ज, हेटौँडा काठमाडौं जाने बिरामीहरूले अहिले जितपुरसिमरा अस्पतालबाटै सेवा पाउन थालेका छन् ।

जितपुरसिमरा अस्पतालमा अहिले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ओपिडी सेवा सञ्चालन हुँदै आएको छ । पछिल्लो समय अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, गर्भवती परीक्षण, गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ल्याब परीक्षण सेवा दिन सुरु गरेसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको जितपुरसिमरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा.प्रकाश साहले बताए ।

उनले भने, ‘हामीले मुटुको समस्या भएका बिरामीहरूलाई हृदयाघात भए÷नभएको परीक्षणसमेत सुरु गरेका छौँ र अहिले उपमहानगरले अस्पतालमा केही सेवा अझै थप गर्ने भनेको छ ।’
अहिले दैनिक २ सयदेखि २५० जना बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन्, भने दैनिक ५० देखि ६० जनाले ल्याबको सुविधा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ । ४ जना डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको टोलीले अहिले अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालले फार्मेसीसमेत सञ्चालन गरेको छ, जसमा नेपाल सरकारले प्रदान गर्ने ९८ प्रकारका औषधिहरू निःशुल्क पाइन्छ भने अन्य बजारमा पाइने महँगो औषधिमा न्यूनतम शुल्कमा पाइने अस्पताल प्रशासनले जनाएको छ ।

जितपुरसिमरा उपमहानगरले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । जितपुरसिमरा अस्पतालको आफ्नै निजी भवनसमेत निर्माण भइरहेको छ । भवन बनेसँगै जितपुरसिमरा अस्पतालमा सेवा सुविधा ठप्प गरिने जितपुरसिमरा उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया