अर्घाखाँचीमा कार दुर्घटना : १ बालकको मृत्यु, ७ जना घाइते

अर्घाखाँची । जिल्लाको पाणिनी गाउँपालिकामा कार दुर्घटना हुदाँ एक जना बालकको मृत्यु भएको छ ।
सुपादेउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती पाल्पा सडक खण्डको पाणिनी–८ को कोलडाडा भन्ने ठाउँको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ किमडाडाका ६ वर्षीय आरम्भ क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनको उपचारको क्रममा जिल्ला अस्पतालमै मृत्यु भएको हो । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा भूमिकास्थान नगरपालिका–८ का ३४ वर्षीय चालक ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनीको छोरी इभान्सी क्षेत्री, पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीया सविता अधिकारी, पोखरा–१२ कै १५ वर्षीय प्रज्वल कँडेल, पोखराकै ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । घाइतेहरूको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार भएको अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले बताए । चौहानका अनुसार ४ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको र ३ जनाको जिल्ला अस्पतालमै उपचार भएको जनाकारी दिएका छन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया