प्रहरीद्वारा ज्यादती भएको स्वीकार

नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुव्र्यवहारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यहोरासमेत प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । बौद्ध भिक्षुको भेषमा सडकमा हिँडिरहेका एक युवामाथि प्रहरीले लात्ती प्रहार गर्दै लघारिरहेको भिडिओ शनिबार बेलुकादेखि नै समाजिक सन्जालमा भाइरल भएको छ ।

यो भिडिओका सन्दर्भमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा आयोजकहरूले केही व्यक्तिहरूलाई भिक्षुको भेषमा उतारेको हुनसक्ने अनुमान पनि धेरैले गरेका थिए । तर, नेपाल प्रहरीले यो अनुमानलाई खारेज गरेको छ । प्रहरी मुख्यालयले जारी गरेको सूचनाअनुसार उक्त व्यक्ति भिक्षु नै हुन्, उनी आन्दोलनका लागि उपस्थित भएका थिएनन्, उनलाई लात्तीले हान्दै लघार्ने प्रहरी कर्मचारी दोषी हुन् । नेपाल प्रहरीले नै यो कुरा उल्लेख गरेपछि अब पहिचानवादी नेता महतोको विषयमा शंका गर्ने कुरा भएन ।

ज्यादतीमा परेका ती भिक्षु को थिए ? कुन प्रयोजनका लागि त्यस क्षेत्रको बाटो हिँडेका थिए ? भन्ने यथार्थता नेपाल प्रहरीले सार्वजनिक गर्नु जरुरी छ । होइन भने नेपाल प्रहरीभित्र या त अतिवादीहरूको घुसपैठ भएको छ, या त आपराधिक मानसिकता बढेको छ ? भन्ने आशंका गर्नुपर्ने हुन्छ । सर्वसाधरण बटुवामाथि त्यस्तो व्यवहार गर्नु आफैँमा जघन्य अपराध हो, त्यसमाथि पनि बौद्ध चिवर पहिरिएका व्यक्तिमाथि त्यस्तो दुव्र्यवहार गरिएको छ । त्यसैले दोषी प्रहरीलाई विभागीय कारवाही गरेर मात्रै पुग्दैन । यस घटनाको गहन अध्ययनका लागि कार्यदल नै गठन गर्नु जरुरी छ । किनकी धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेहरूको घुसपैठ नेपाल प्रहरीसम्म हुनु भनेको सामान्य मामिला होइन ।

धार्मिक मामिलाहरू ज्यादै संवेदनशील हुन्छन् । संगीन अभियोग लागेका धर्म गुरु चाहे कृष्णबहादुर गिरी होउन वा आचार्य श्रीनिवास होउन, चाहे रामबहादुर बम्जन होउन या पास्टर जी कार्थक होउन, यस्तालाई प्रहरीले पक्राउ गर्दा अनुयायीहरू सडकमा उत्रेका उदाहरण छन् । आफ्नो बाटोमा हिँडिरहेका निर्दोष भिक्षुमाथि प्रहरीले यसरी ज्यादती गर्दा उनका अनुयायीहरूको धैर्यताको बाँध टुट्न सक्छ ।

विगत एक वर्षदेखि नेपालमा धार्मिक सद्भाव बिथोल्ने घटना बढेका छन् । जबजब छिमेकी देश भारतमा आमनिर्वाचन नजिकिन्छ तबतब नेपालमा यस्ता घटना बढ्ने गरेको विगतमा पनि देखिएको छ । सर्लाहीबाट स्वतन्त्र चुनाव जितेका सांसद अमरेश कुमार सिंहले यस विषयमा एक वर्षअघि संसद्मा बोलेका पनि थिए । उनको भनाइ थियो, ‘भारतमा आमनिर्वाचन आउनै लागेको छ, त्यसको बाछिटा नेपालमा पर्न सक्छ, तराईमा हिन्दू–मुसलमानबीच र पहाडमा हिन्दू–बौद्धबीच झडप गराउने रणनीति बनिरहेको सूचना मैले पाएको छु, त्यसैले सरकार समयमै सचेत हुनुपर्छ ।’

नभन्दै नेपालगन्ज, धरान लगायतका क्षेत्रमा यस्ता प्रयास भए । नेपाल प्रहरीले कुशलतापूर्वक यस्ता प्रयासलाई निस्तेज गरिदियो । केही दिनअघि सुनसरीमा पनि यस्तो प्रयास भयो । यो प्रयास पनि नियन्त्रणमा आएको छ । ठीक यही बेला मधेसवादी नेता राजेन्द्र महतोले असान्दर्भीक माग राख्दै राजधानी काठमाडौंका निषेधित क्षेत्र तोड्ने प्रयास गर्नु र बौद्ध भिक्षुमाथि प्रहरी कर्मचारीद्वारा नै जघन्य ज्यादती हुनु संयोग मात्रै नहुन सक्छ । यस्ता मामिलामा हचुवा ढंगले प्रतिक्रिया दिनुभन्दा गहन अध्ययन तथा विश्लेषण गर्नु जरुरी हुन्छ ।

प्रतिक्रिया