हेटौँडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

हेटौँडा । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता पाएको छ । हेटौँडा– १२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गरेको बताइन् । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिइन् ।

होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए । उनले होटलहरूले यहीँ उत्पादन भएको गुन्द्रुक खपत गर्नेमा प्रतिबद्धता जनाए । ‘सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन, अब जिल्लाका होटलहरूमा यहाँ उत्पादित गुन्द्रुक प्रयोगमा समस्या छैन,’ उनले भने ।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अर्ग्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।

‘उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो, उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कट्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो,’ उनले भनिन् ।

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताइन् । ‘अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ,’ उनले भनिन् ।

यस समूहमा हाल १२ जना छन् । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्यांक अनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।– रासस

प्रतिक्रिया