मिटर ब्याजी साहुकारभन्दा बैंक खतरनाक

थोरै व्याजमा ऋण दिन्छौँ भन्दै ग्राहक फकाउने, ऋण दिएपछि हरेक वर्ष व्याजको दर बढाउँदै जाने बैंकहरूको धन्दा नयाँ होइन । यसैगरी आकर्षक व्याजदर भन्दै प्रचार गरेर सर्वसाधारणको निक्षेप संकलन गर्ने, अनि केही महिना पनि निक्षेपकर्ताको व्याजदर घटाइदिने प्रपञ्च पनि बैंकहरूले गर्दै आएका छन् । यस्तो हर्कत त गाउँका मिटरव्याजी साहुहरूले पनि गरेका हुँदैनन् ।

नरेन्द्रमान श्रेष्ठ

देशका विभिन्न भागबाट काठमाडांै आएका मिटरब्याज पीडितहरूको आन्दोलनले गर्दा बैंकलाई पनि मिटरब्याजी भन्ने गरिएको छ । बैंकलाई मिटरब्याजी भन्नेहरूमा नेता ब्यापारीदेखि प्राध्यापकहरूसम्म छन् । प्राध्यापक डा.सुरेन्द्र केसीले समेत बैंकलाई मिटरब्याजी भनेको भिडियो क्लिप सामाजिक संजालमा भाइरल भएको छ ।

बैंक मिटर ब्याजी नै हुन त् ? दुर्गा प्रसाईंले बैंकविरुद्ध अराजक विचारहरू राख्ने गरेका छन् । उनलाई बंैकिङ क्षेत्रको खलनायक भन्ने गरिएको । ब्यापारीबाट नेता बनेका प्रसार्इंले बैंकको बारेमा अराजक तरिकाले अभिव्यक्ति दिनुको पनि खास कारण छ । प्रसार्इंले एनआइसी एसिया बैंक डुब्न लाग्यो, ऋणीहरूको घरखेत खाइदियो, नक्कली नोटको कारोबार ग¥यो भन्ने आरोप लगाएका छन् । त्यसो त भन्नेहरूले प्रसाईंको बारेमा दुई वटा कुरा भनेका छन् । एउटा बंैकिङ क्षेत्रलाई धरासायी बनाउने, अर्को राजतन्त्र फर्काएर प्रधानमन्त्री बन्ने । यस्ताको पछि लाग्नेहरू फेरि कस्ता ? भनेर पनि सरोकारवालाहरूले भन्ने गरेका छन् । देशका प्रतिष्ठित नेताहरूले पनि बैंकहरू मिटर ब्याजी भएको बताइरहेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैकहरू मिटर ब्याजी भएको र आफूले मात्र अर्बौं नाफा कमाउने गरेको भनेका छन् । ओलीको यो भनाइका विषयमा पनि ठूलै चर्चा छ । कतिपय नेताहरू अन्डर एसएलसी छन् । अनपढ नेताहरूले यस्तो कुरा बोल्नु अचम्म होइन । नेताहरूले फटाहा फटाहा कुरा गर्छन् भन्ने सबैलाई थाहा भएकै हो । आफ्नो दल सरकार बाहिर भए सत्ता गठबन्धनलाई महाठग गठबन्धन भन्ने आफ्नो दल सरकारमा सहभागी भएपछि कसिलो सत्ता गठबन्धन भनेर नेताहरूले भनेको त हामीले सुनेका नै छौँ ।

तर, विश्वविद्यालयको प्राध्यापक जसले राजनीतिक शास्त्रमा डाक्टरेट गरेका छन्, युट्यबेहरूको प्रिय पात्रसमेत हुन्, जसको नाम हो सुरेन्द्र केसी । यस्ता व्यक्तिले समेत बैंकहरूलाई मिटर ब्याजी भन्नु गम्भीर कुरा हो । के बैंकहरू मिटर ब्याजी भएकै हुन् त ? । मिटर ब्याजीको परिभाषा आ–आफ्नै छन् । प्रतिनिधिसभामा समेत बैंकहरू मिटर ब्याजी भएको आवाजहरू उठिरहेका छन् । बैंकहरूमाथि निक्षेपकर्तालाई थोरै व्याज दिएर र ऋणीसँग चर्को ब्याज लिएर अर्बौं कमाउँछन् भन्ने आरोप छ । थोरै व्याजमा ऋण दिन्छौँ भन्दै ग्राहक फकाउने, ऋण दिएपछि हरेक वर्ष व्याजको दर बढाउँदै जाने बैंकहरूको धन्दा नयाँ होइन । यसैगरी आकर्षक व्याजदर भन्दै प्रचार गरेर सर्वसाधारणको निक्षेप संकलन गर्ने, अनि केही महिना पनि निक्षेपकर्ताको व्याजदर घटाइदिने प्रपञ्च पनि बैंकहरूले गर्दै आएका छन् । यस्तो हर्कत त गाउँका मिटरव्याजी साहुहरूले पनि गरेका हुँदैनन् ।

बैंकहरूले गरेको ज्यादतीबारे आवाज उठाएकै कारण दुर्गा प्रसार्इंका समर्थकको संख्या बढ्दै गएको हो । उनलाई कतिपयले ‘वान म्यान आर्मी’, ‘वान म्यान प्रतिपक्ष’ पनि भन्ने गरेका छन् । प्रसार्इंले बैंकहरूको बारेमा नानाथरिका भ्रमहरू फैलाइरहेको आरोप बैंक मालिकहरूको छ । बैंकबाट ऋण लिएकाहरूले नतिर्न, २६ लाख सम्मको ऋणहरू मिनाहा गर्न, लघुवित्तका कर्मचारीहरू ऋण उठाउन आए लखेट्न, कालोमोसो दलेर उठाउन प्रसाईंले आह्वान गर्दै आएका छन् । यी कारणले लघुबित्त कम्पनीहरू समस्यामा परेको सरोकारवालाहरू बताउँछन् । प्रसार्इंले जे भने पनि पटकपटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष ओलीलेसमेत बैंकहरूलाई मिटर ब्याजी भन्नु गम्भीर कुरा हो । ओलीले आफ्ना झण्डे कार्यकर्ता महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाएका छन् । उनकै कारण बैंक तथा वित्त कम्पनीहरूमा र सेयरबजारमा समस्या आएको सरोकारवालाहरू बताइरहेका छन् ।

कतिपय लगानीकर्ता र सेयरबजारका विज्ञहरूको भनाइमा गभर्नर अधिकारी सेयरबजारप्रति सकारात्मक नहुँदा लगानीकर्ताहरूको लगानी डुबेको हो । सिद्धान्ततः बैंक तथा बित्त कम्पनी कुनै एक व्यक्ति वा संस्थाका हुँदैनन् । सर्वसाधारणको पनि लगानी हुन्छ । बैंक तथा वित्त कम्पनीहरूमा फुटपाथका ब्यापारीहरूदेखि विभिन्न ठूला व्यापारी तथा संस्थाको समेत लगानी हुन्छ । बैंक तथा वित्त कम्पनीहरूमा आमनागरिकले निक्षेप जम्मा गरेका हुन्छन् । बैंक तथा बित्त कम्पनी डुब्नु भनेको सर्वसाधारण डुब्नु हो । कतिपय नेतालाई यति कुरा पनि थाहा नहुनु बिडम्बना हो ।

बैंक तथा वित्त कम्पनी भनेको व्यवसाय हो । व्यवसाय गरेपछि केही नाफा पनि खोज्छन् यो सामान्य हो । हुन सक्छ केही बैंक तथा वित्त कम्पनीहरूले चर्को ब्याज लिएका पनि होलान्, यसका लागि त नियमन गर्ने निकाय छ । नियमन गर्ने नेपाल राष्ट्र बैंक हो । नेपाल राष्ट्र बैंक के हेरेर बसिरहेको छ त ? ब्यापारीबाट नेता, त्यो पनि राजावादी बनेका दुर्गा प्रसार्इंले राजसंस्था फर्कियो भने बैंकबाट लिएको सबै ऋण मिनाहा हुन्छ भनेर अराजक अभिव्यक्ति दिने गरेका छन् । यसै कारणले बैंकले आफ्नो ऋण लगानी उठाउन नसकिरहेको बताइरहेका छन् । ऋण भनेको बैंक तथा लघुवित्त कम्पनीहरूको मात्र तिर्न पर्ने होइन, जो कसैसँग ऋण लिएको छ भने पनि तिर्नुपर्ने हुन्छ । लिएको ऋणहरू तिर्नु पर्दैन भन्ने कस्तो अराजक विचार ? के बंैक तथा वित्त कम्पनीहरू दुर्गा प्रसाईंको श्रीमतीको दाइजोको रकमले चलेका हुन् ?

बैंक तथा वित्त कम्पनीहरू भनेको सर्वसाधारणको निक्षेपले चलेका हुन्छन् । बैंकहरूप्रति पूर्वप्रधानमन्त्रीदेखि नेता, सांसद ब्यापारीसम्मले भ्रम फैलाइरहेका छन् । यसकारणले पनि बैंक तथा लघुवित्त कम्पनीहरूले आ–आफ्नो लगानी उठाउन नसकिरहेकोले संकटमा फँसेका छन् । बैंकहरूमा प्रर्याप्त तरलता छ । रकम थुप्री रहेता पनि लगानी गर्न सकिरहेका छैनन् । यी विभिन्न कारणहरूले बंैक तथा वित्त कम्पनीहरूमा उतारचढाव आइरहेका छन् । यसले सेयरबजारमा समेत नकारात्मक असर परिरहेको छ । सेयरबजार उकालो लाग्न सकिरहेको छैन । सेयरमा गरिएको लगानी डुबिरहेको छ ।

कतिपय नेताहरू सेयरबजारप्रति पनि नकारात्मक छन् । सेयरबजारको बारेमा पनि बेलाबेलामा विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूले नकारात्मक अभिव्यक्ति दिने गरेका छन् । सेयरबजारमा ८० प्रतिशत जति कारोबार बैंक तथा वित्त कम्पनीले ओगटेका छन् । बंैकको बारेमा नकारात्मक प्रचार भइरहँदा सर्वसाधारणहरूले हेर्ने दृष्टिकोण नकारात्मक हुने देखिन्छ । केही बैंक तथा वित्त कम्पनीमा बेथिति बढिरहेको पनि देखिन्छ तर नियामक निकायहरूले बेथितिलाई निराकरण गर्नुपर्दछ । समग्र बैंक तथा वित्त कम्पनीहरूप्रति नै भ्रम हने किसिमले अभिव्यक्ति दिइरहँदा बैंकका लगानीकर्ताहरू र निक्षेपकर्तामा त्रास देखिनु स्वभाविकै हो । दुर्गा प्रसाईंले लघुवित्त कम्पनीहरूको ऋण तिर्न पर्दैन भनेको कारणले पनि पछिल्लो समयमा लघुवित्त कम्पनीहरूको रिपोर्ट राम्रो देखिएन । धेरैजसो लघुवित्त कम्पनी दोस्रो त्रैमासिक रिपोर्टमा घाटामा नै देखिएका छन् । बैंक तथा वित्त कम्पनी डुब्नु भनेको सर्वसाधारण डुब्नु हो । दुर्गा प्रसाईं र केपी ओली डुब्ने होइन । प्रसाईंले पाँच अर्ब रुपैयाँभन्दा बढी बैंकको ऋण नतिरेको बताउँछन् सरोकारवालहरू ।

प्रतिक्रिया