मकैका घोगामा दाना नलाग्दा बाराका किसान निरास

बारा । दुःख गरेर लगाएको बालि त्यसमा पनि उन्नत जातको भनेर लगाएको मकैमा दाना नलागेपछि बाराका किसान निरास भएका छन् । जिल्लाको जीतपुरसिमरा, कलैया, कोल्हवी, निजगढ लगाएतका स्थानमा हजारौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको एक किसानले बताए । तर, बाली भित्र्याउने समयमा मकैका घोगामा दाना नलागेपछि बाराका किसान चिन्तित भएका हुन् ।

बाहिरबाट हेर्न मकैका आकर्षक घोगा लागे पनि दाना भने नलागेको बाराका किसानहरुले गुनासो गरेका छन् । प्रति किलो ६५० रुपैयाँमा बिउँ किनेर ३ बिघा १० कठा क्षेत्रफलमा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको जीतपुरसिमरा–११ खैरहवाका किसान रामानन्द बछारले बताए । ‘धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो,’ उनले भने, ‘अहिले सबै लगानी डुब्यो ।’ जीतपुरसिमरा र कलैयाका किसानले लगाएको बिसौं बिघा क्षेत्रफलको जमिनमा हाइब्रिड जातको मकैमा दाना नलागेको किसानको दाबी छ ।

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई सिजनसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान सन्तोष यादवले गुनासो गरे । उनले गत कार्तिकमा पाँच बिघा जमिनमा उन्नत जातको मकै लगाएको बताए । उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन ।
महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि यति बेला किसान छागाँबाट खसेजस्तै भएका छन् । नेपाल सरकारले प्रामणिकरण गरेको मकैको बिउँ बाराका किसानले लगाए पनि मकैबाट सोचे जसो आम्दानी नहुने भए पछि अहिले बाराका कतिपय किसानहरुले मकैको पात काटेर गाई भैसीलाई खुआउन थालेका छन् । दाना नलागेपछि मकै खेती लगाउँदा लगानी भएको मल, बिउ र ज्याला कसरी उठाउने भन्ने चिन्तामा किसान छन् ।
हिउँदे मकै खेती राम्रो हुने भएकाले बाराका किसान यसमा आकर्षित भएका थिए । तर मकैमा दाना नलाग्ने समस्याबाट उनीहरू पिरोलिएका छन् । मकैमा दाना नलागेको भन्दै किसान भौंतारिए पनि अहिलेसम्म कति किसानको कति जमिनमा यस्तो समस्या देखियो यकिन तथ्यांक स्थानीय तहले लिन सकेको छैन ।

मकै खेतीबाट आम्दानी लिने आसा गरेका किसानहरु यति बेला श्रम र लगानी डुबेकोमा निकै दुखी छन् । किसानले भोगेको यस्ता समस्या यो पहिलो भने होइन, यहाँका किसानले पहिला पनि यस्ता समस्या भोग्दै आएका छन् । तर, किसानको लगानी बालुवामा पानी हुँदा पनि उनीहरुको समस्यामा मल्हम लगाउने प्रयास कतैबाट भएको छैन ।

प्रतिक्रिया