बन्चरेडाँडाका स्थानीयमाथि फेरि जालझेल

काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न स्थानीय बासिन्दाले फेरी अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो । समितिका संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताएका छन् । शनिबार देखि सुरु भएको अबरोध माग पुरा नभएसम्म जारी रहने संयोजक ढुंगानाले बताएका छन् । विभिन्न माग राख्दै फोहर विसर्जन गर्न अबरोध पु¥याउने गरिएको यो पहिलो या दोस्रो पटक होइन । दर्जनौ पटक उत्पन्न यो समस्याले दीघ रोग धारण गरेको छ । किन बेला बेलामा यस्तो समस्या उत्पन्न हुन्छ ? भन्ने कुरा रहस्यमय बनेको छ । किनकी स्थानीय क्षेत्रमा खासै ठूलो जनसंख्या छैन । राजधानी काठमाडौं उपत्याकाबासीले फोहर संकलनका लागि धेरै ठूलो रकम खर्च गर्दै आएका छन् । हरेक घरले मासिक कम्तिमा पाँच सय रुपैंया तिर्छन् । होटल, रेष्टुरेन्ट , स्कुल, अस्पताल लगायतका संस्थाहरुले तिर्ने कुल शुल्क जोड्ने हो भने बार्षिक ५ अर्ब रुपैंया भन्दा बढी संकलन हुन्छ । तर फोहर विर्सजन हुने ठाउँ सिसडोल तथा बन्चरे डाँडाका स्थानीय जनता आफ्नो माग पुरा नभएको दाबी सहित प्राय आन्दोलनमा उत्रन्छन् ।

कतिपय पालिकाहरुले निशुल्क फोहर संकलन गर्ने गरेका छन् । संकलित फोहरलाई कुहिने र नकुहिने गरी दुई भागमा विभाजन गर्ने गरेका छन् । कुहिने फोहरबाट मल बनाएर विक्रि गरी आम्दानी लिने गरेका छन् । मल निर्माणका लागि रोजगारी दिएका छन् । नकुहिने फोहर कवाडीलाई विक्रि गरी आम्दानी गरेका छन् । तर भक्तपुर बाहेक काठमाडौं उपत्याकाका धेरै जसो पालिकाहरु यो मामिलामा तमासे बनेका छन् । फोहर संकलन तथा विर्सजनका नाममा ठूलो भ्रष्टाचार हुने गरेको छ । यो भ्रष्टाचार रोक्नका लागि नै गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरबासीले स्वतन्त्र उमेद्वार बालेन्द्र शाहलाई मेयर पदमा चुनाव जिताएका हुन् । उनको मुख्य नारा नै फोहर संकलन तथा विसर्जनमा भएको भ्रष्टाचार निवारण गर्ने र भक्तपुर नगरपालिकाले गरे जस्तै फोहरबाट मोहर बनाउने थियो । जनताले विश्वास गरे । पाँच वर्षमध्ये दुई वर्षको कार्यकाल उनले बिताई सकेका छन् , तर फोहरको समस्या जस्ताको तस्तै छ । भ्रष्टाचारको जालो तोड्न मेयर शाहले सकेनन् ।

फोहरले दुर्गन्ध मात्रै फैलँदैन , फोहरको संसर्गले अनेकथरी रोग फैलन्छ । फोहर जति पुरानो भयो उनी नै दुर्गन्धित र रोग फैलाउने कारक बन्छ । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ । बञ्चरे डाँडा क्षेत्रका स्थानीय जनता कति पिडित होलान ? भन्ने अनुमान यहीँबाट लगाउन सकिन्छ । चुनाव जित्ना साथ बञ्चरे डाँडा पुगेका मेयर शाहले भनेका थिए –‘यहाँका जनता यति नरकीय जीवन बाँचिरहेका छन् भन्ने कुरा कल्पना पनि गरेको थिइन , हामी काठमाडौंबासीले साँची नै पाप गरेका रहेछौं ।’ उनको यो प्रतिक्रिया पछि स्थानीय जनता आशाबादी भए । फोहर बिर्सजनमा गरिएको अवरोध तत्कालका लागि हटाए । केही महिना पछि शहरी विकास मन्त्रालयमा त्रिपक्षीय वार्ता भयो । बर्ताका क्रममा बन्चरेडाँडा आसपासको क्षेत्रलाई विकास तथा राहतका लागि केही परियोजना निर्माण गर्ने सहमति भयो । तर त्यो सहमति कार्यान्वयन भएन । यस वीचमा काठमाडौं महानगरपालिकाले पनि खासै गृहकार्य गरेन । काठमाडौं महानगरपालिका भित्रको कुहिने फोहर कम्पोष्ट मल बनाउनका लागि प्रयोग गर्ने हो भने मात्रै पनि बञ्चरेडाँडा क्षेत्रको दुर्गन्धको समस्या ८० प्रतिशत समाधान हुन्छ । ‘कुहिने फोहरलाई विसर्जन गर्न दिँदैनौ’भन्ने स्थानीय बासिन्दाको माग शत प्रतिशत जायज छ । यो मागलाई सबैले समर्थन गर्नु पर्छ ।

प्रतिक्रिया