मटिहानिका दलित र विपन्न परिवारलाई ग्यासको सिलिण्डर र चुलो वितरण

महोत्तरी । महोत्तरीको क्षेत्र नम्बर ३ का सांसद महन्थ ठाकुरले दलित तथा अति विपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर र चुलो निःशुल्क वितरण गरेका छन् । शनिबार महोत्तरीको मटिहानी नगरपालिका– ८ स्थित श्री राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सिलिण्डर र चुलोको सेट हस्तान्तरण गरिएको हो ।

सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेशनलाई सिलिण्डर र चुलो भारत सरकारको साना विकास परियोजनाअन्तर्गत प्राप्त भएको थियो । मटिहानी नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका करिब २००० अति विपन्न तथा दलित परिवारलाई निःशुल्क सिलिण्डर र चुलो वितरण गरिएको सुशीला ठाकुर हेल्थ मेमोरियल फाउण्डेशन धनुषाका अध्यक्ष डा. मिनाक्षी ठाकुरले बताइन् ।

सांसद ठाकुरले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । उनले भारतबाट हुने यस किसिमका सहयोगले नेपाल–भारतका जनताबीच अझ मजबुत सम्बन्ध बनाउन सहयोग हुने बताए । उनले भने, ‘मेरो मुख्य उद्देश्य नै दलित र अति विपन्न परिवारहरूको आर्थिक, सामाजिक रुपमा उत्थान गर्नु रहेको छ ।’

यस किसिमका सहयोगले महिलाहरूको स्वास्थ्यमा सुधार हुनुका साथै खाना पकाउन समयको पनि बचत हुने उनको भनाई छ । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मन्डलले भारत सरकारको सहयोगले नेपाली जनतालाई मद्दत पुग्ने बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्धलाई झन बजबुत बनाउन यी सहयोगको ठूलो महत्व हुने बताए । साथै आफू आफ्नो नगरपालिकालाई धुवाँ र धूलोमुक्त नगरपालिका बनाउन अग्रसर रहेको उनले बताए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया