सकियो नियमिततर्फको एसइई

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमिततर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

शुक्रबारसम्मको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उनले जानकारी दिए । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको, तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालु रहेको उनले जानकारी दिए ।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘साधारणतर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ । तर, प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।’

परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै उनले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, ६ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्कासन गरेको जानकारी दिए ।

प्रतिक्रिया