नेपालमा ग्रिन हाइड्रोजन

काठमाडौं विश्वविद्यालयले पेट्रोलियम पदार्थको विकल्पमा ग्रिन हाइड्रोजनको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौं विश्वविद्यालयले विगत केही वर्षदेखि नेपालमा ग्रिन हाइड्रोजन प्रयोग तथा उत्पादनको संभाव्यता अध्ययन थालेको थियो । यसका लागि विश्वविद्यालयले गत कात्तिकमा हाइड्रोजनबाट चल्ने कोरियन गाडी तथा हाइड्रोजन उत्पादन गर्ने उपकरण झिकाएको थियो । नेपालमै हाइड्रोजन उत्पादन गरी गाडी गुडाउने प्रयासले गत आइतबार सफलता प्राप्त गरेको छ । काठमाडौं विश्वविद्यालयले प्राप्त गरेको यो सफलता नेपालकै लागि अत्यन्त खुसीको कुरा हो । काठमाडौं विश्वविद्यालयले यो प्रयास गर्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षअघि सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने क्रममा आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिपछि हाइड्रोजन गाडीको चर्चा चल्न थालेको हो, काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरू थप उत्साहित भएका हुन् । पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गरेको र वातावरण संरक्षणका लागि विश्वले नै पेट्रोलियमको विकल्प खोजिरहेको अवस्था छ अहिले । यो अवस्थाको प्रचुर लाभ जलविद्युत् उत्पादनको उच्च संभावना भएको नेपालले लिन ढिलाइ गर्नु नहुने हाइड्रोजन उत्पादनमा संलग्न वैज्ञानिकहरूको भनाइ छ । परीक्षण त सफल भयो, तर नेपालले यसको व्यावहारिक प्रयोग कसरी गर्न सक्छ ? यसका लागि आर्थिक स्रोत जुटाउन सक्ने अवस्थामा नेपाल छ कि छैन ? भन्ने प्रश्नको उत्तर भने बाँकी नै छ । किनकी पेट्रोलियम पदार्थको प्रयोग नेपाल सरकारका लागि राजस्वको मुख्य स्रोत पनि हो ।

ग्रिन हाइड्रोजनले पेट्रोलियम पदार्थको भन्दा राम्रो काम गर्छ । ग्रिन हाइड्रोजन उत्पादनका लागि बिजुलीको प्रयोग सबैभन्दा राम्रो मानिन्छ । काठमाडौं विश्वविद्यालयले गरेको अनुसन्धान बाट ५० युनिट बिजुलीले एक किलोग्राम हाइड्रोजन उत्पादन हुनसक्ने देखिएको छ । नेपालले भारतलाई प्रतियुनिट आठ रुपैयाँको दरले बिजुली बिक्री गर्दै आइरहेको छ । यो बिक्री मूल्यलाई आधार मान्दा एक केजी हाइड्रोजन उत्पादनका लागि सबै गरेर पाँच सय रुपैयाँ लागत पर्ने देखिएको छ । एक केजी हाइड्रोजनले एउटा कार एक सय मिटर गुड्छ । तर, त्यही कार एक सय मिटर गुड्न १० लिटर पेट्रोल चाहिन्छ । नेपाल सरकारले निर्धारण गरेको पेट्रोलको बजार मूल्य र ग्रिन हाइड्रोजन उत्पादनको लागत मूल्य तुलना गर्ने हो भने पेट्रोलभन्दा ग्रीन हाइड्रोजन नै सस्तो पर्ने देखिन्छ । तर, नेपाल सरकारले खरिद मूल्यभन्दा दोब्बर मूल्यमा पेट्रोलियम बिक्री गरेर वार्षिक करिब दुई खर्ब रुपैयाँ राजस्व आम्दानी गरिरहेको यथार्थतालाई बिर्सन मिल्दैन । यसैगरी पेट्रोलियम गाडीहरू आयातमा तीन सय प्रतिशतसम्म भन्सार लिएर सरकारले वार्षिक एक खर्ब रुपैयाँ जति आम्दानी गरिरहेको यथार्थतालाई पनि बिर्सन मिल्दैन ।

जलविद्युत्को प्रचुर संभावना रहेको, भारतबाहेक अन्य देशमा जलविद्युत् निर्यातको संभावना कमजोर रहेको अवस्थामा ग्रिन हाइड्रोजनको उत्पादन र प्रयोग नेपालका निम्ति उत्तम विकल्प हो भन्ने कुरामा दुईमत छैन । पेट्रोलियमको विकल्पमा ग्रिन हाइड्रोजनको प्रयोग वातावरण संरक्षणको दृष्टिले पनि वरदान सावित हुने कुरामा दुई मत छैन । तर, तत्कालका लागि भने ग्रिन हाइड्रोजन व्यापक उत्पादन तथा प्रयोग नेपालका लागि आर्थिक दृष्टिले चुनौतीपूर्ण रहेको छ । पहिलो कुरा त हाइड्रोजनबाट चल्ने गाडीको खरिदमूल्य पेट्रोेलियम गाडीको भन्दा दोब्बर पर्छ । जसका कारण एकातिर ठूलो रकम बिदेसिन्छ भने अर्कातिर पेट्रोलियम गाडी आयातबापत प्राप्त हुँदै आएको ठूलो परिमाणको राजस्व गुम्छ ।

दोस्रो कुरा पेट्रोलियम आयात बापतको राजस्व पनि गुुम्छ । तेस्रो कुरा हाइड्रोजन उत्पादन प्लान्ट निर्माण, भण्डारण तथा फ्युल सेन्टर स्थापनाका लागि पनि धेरै ठूलो रकम खर्च हुन्छ । यति ठुलो रकम खर्च बेहोर्न सक्ने आर्थिक हैसियत आमनेपाली जनताको छैन । तर, लगानीका लागि निजी क्षेत्र तयार हुन्छ वा कुनै विदेशी दाता पाइन्छ भने सरकारले ढिलाई गर्नु हुन्न । सरकारले निकट भविष्यमै लगानी सम्मेलन गर्दै छ । लगानी सम्मेलनका क्रममा सरकारले ग्रिन हाइड्रोजन उत्पादनसम्बन्धी छलफललाई पनि प्राथमिकतामा राख्नुपर्छ । मुख्य कुरा वर्षायाममा खेर जानसक्ने बिजुली ग्रिन हाइड्रोेजन उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । सानो स्केलमै भए पनि ग्रिन हाइड्रोजन उत्पादन तथा प्रयोगको व्यावसायिक थालनी गर्न सकियो भने भारतलाई बिजुली बेच्दा मूल्यमा बार्गेनिङ गर्न सक्ने नेपालको सामाथ्र्य बढ्छ ।

प्रतिक्रिया