आधुनिकतासँगै संकटमा आरन पेसा

पर्सा । समयको विकास क्रमसँगै कृषि परियोजनका लागि विश्वकर्मा, लोहार ठाकुर समुदायको पुख्र्यौली पेसा संकटमा परेको छ । विभिन्न प्रकारका आधुनिक मेसिन तथा औजारले बजार लिएसँगै उनीहरूको पुख्र्यौली पेसा आरन संकटमा परेको हो ।

आधुनिक औजारका कारण पुराना घरेलु औजार विस्थापित हुँदैछन् । ट्रयाक्टरले खेत जोत्ने र थ्रेसरले बाली भित्र्याउन थालेपछि परम्परागत औजार विस्थापित भएका हुन् । थ्रेसर लगायतका विभिन्न किसिमका मेसिनहरूको प्रयोग बढ्दा परम्परागत औजारको माग घट्दो छ । यसले विश्वकर्मा, लोहार ठाकुर समुदायको लोहसारी (फलामको औजार उत्पादन तथा मर्मत गर्ने पेसा) लोपोन्मुुख बनेको हो ।

घरायसी तथा खेती किसानी सामान्य कार्यका लागि प्रयोग हुने, हँसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका लागि मात्र सर्वसाधारणहरू लोहसारी आउने धोबिनी गाउँपालिका–४ लंगडीका पारस ठाकुर लोहारले बताए । उक्त पेसामा काम गरे बापत पाउने ज्याला निकै कम भएकोले विश्वकर्मा, लोहार ठाकुर समुदायका मानिसहरूले यो पेसा छाड्दै गएको उनको भनाइ छ ।

परम्परागत चलनअनुसार वार्षिक रूपमा तोकिएको प्रतिपरिवार एक मन (४० केजी) धानबाट परिवारको खर्च धान्न नसक्दा समुदायका नयाँ बंशज अन्य पेसातर्फ आकर्षित भएको उनी बताउँछन् । यस पेसामा आय अत्यन्तै न्यून भएकाले अबका सन्तती अन्य पेसा रोज्दै सहर तथा वैदेशिक रोजगारीमा जाने गरेको उनको जिकिर छ । त्यस्तै छिपहरमाई गाउँपालिका–५ भिश्वाका रामबालक ठाकुर लोहारले पुख्र्यौली पेसा जोगाउनैका लागि काम गरेको जनाए ।

तर, यो पेसाबाट जीविकोपर्जन गर्न भने सकस हुने उनले सुनाए । बढ्दो आर्थिक मन्दी तथा न्यून आम्दानीका कारण यस पेसाबाट मानिसहरू पछि हटेको उनको भनाइ छ । लोहसारीमा फलाम पिट्नु कठिन काम भएको तथा प्रयोग हुने कोइला महँगो भएको र ज्यालादारी सन्तोषजनक नहुँदा आफ्ना छोराछोरीहरूलाई अन्य पेसामा लगाउने ठाकुरले बताए ।

पुख्र्यौली पेसा जोगाउन आफूले बिहान फलाम पिट्ने, फलामका औजार मर्मत गर्ने गरेको उनको कथन छ । उनले भने, ‘पेसा जोगाउन भए पनि गाउँघरमा सिकर्मीको काम गर्छु, यसले दैनिकी चलाउन भने पुग्दैन, त्यही कारण छोराछोरीलाई भने अन्य काम लगाउने गरेको छु ।’

प्रतिक्रिया