काठमाडौंको व्यापार व्यवसायमा मुर्दा शान्ति

फुटपाथमा बसेर सामान बेच्ने (फुटपाथे व्यवसायी)हरुलाई लखेट्ने काठमाडौं महानगरपालिकाको अभियान नयाँ होइन । आज भन्दा करिव चार दशक अघि सार्क सचिवालय स्थापनाको तयारी हुँदै गर्दा तत्कालिन काठमाडौं नगर पन्चायतले यो अभियान सुरु गरेको हो । तर फुटपाथ खाली गराउने अभियान नाममात्रको थियो । जनप्रतिनिधिहरुले नै आँखा चिम्लने गरेकोले यो अभियान सफल हुन सकेको थिएन । तर यस पटक भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फुटपाथे व्यवसायी लखेट्ने अभियानमा धेरै हदसम्म सफल भएका छन् । उनी सफल हुनुका मुख्यगरी दुई वटा कारण छन् । पहिलो कारण हो– ‘उनी कुनै दलमा आवद्ध नभएका कारण फुटपाथे व्यवसायीको पक्षमा उनी माथि कतैबाट दबाव आएन ।’

दोस्रो कारण हो–‘सटर भाडामा लगाएर आयआर्जन गर्ने काठमाडौंका घरधनीहरुको साथ सहयोग लिन उनी सफल भए ।’ फुटपाथे व्यवसायीलाई लखेट्न काठमाडौंका घरधनीहरु महानगर प्रहरी सँगै लाठी लिएर सडकमा उत्रेको देखियो । कोरानाको महामाहरीका कारण उत्पन्न आर्थिक मन्दीले राजधानी काठमाडौंको व्यापार व्यवसाय लयमा आउन नसकी रहेको अवस्थामा मेयर शाहले फुटपाथे ब्यापारी धपाउन काठमाडौंका रैथानेहरुको साथ पाए । किनकी फुटपाथे ब्यापारीलाई धपाउँदा आफ्नो पसलमा ग्राहक थपिने, आफ्ना सटरहरु बढी भाडामा जाने विश्वास रैथानेहरुलाई थियो । महानगरपालिकाले यही विश्वास दिलाएको थियो । फुटपाथे ब्यापारीहरु विस्थापित भए पछि सटरको ब्यापार के कति चम्कियो ? सटरहरुको भाडा के कति वृद्धि भयो ? भन्ने आधिकारिक अध्ययन हुन बाँकी छ ।

करिव ८ हजार फुटपाथ ब्यवसायीहरुलाई बिस्थापित गराइएको मोटामोटी अनुमान काठमाडौं महानगरपालिककाको छ । फुटपाथ ब्यवसायीहरुको संगठनले भने करिब १५ हजार व्यवसायी विस्थापित भइसकेको दाबी गरेको छ । यति धेरै फुटपाथ व्यवसायीहरु बिस्थापित हुँदा सटरमा गरिएका पसलमा ग्राहकहरुको भीड थेगिनसक्नु हुनु पर्ने थियो । सटरको भाडा बढेर घरधनीहरु मालामाल हुनु पर्ने थियो । तर साविकका सटरहरुमा समेत ग्राहक घटेको देखिएको छ । सटरमा पसल गर्नेहरु समेत व्यापार घटेको भन्दै स्वेच्छाले विस्थापित हुन थालेका छन् । काठमाडौंको शहरी क्षेत्रका करिव २५ प्रतिशत सटर खाली भएका छन् । सटरको भाडा आधा घटेको छ । त्यति मात्रै होइन घर भाडामा लाग्न छाडेको छ । पाँच वर्ष अघिको तुलनामा घर भाडा २५ प्रतिशत घटेको छ । नयाँ घर बनाउने क्रम करिव करिव ठप्प भएको छ । जग्गाको मुल्य पाँच वर्ष अघिको भन्दा १० देखि २० प्रतिशतसम्म घटेको व्यवसायीहरुले बताएका छन् ।

सरसरर्ती हेर्दा ८ लाख जनसंख्या भएको काठमाडौं महानगरबाट १० हजार जना फुटपाथ व्यवसायी विस्थापित हुनु भनेको खासै ठूलो संख्या होइन । तर यी १० हजार व्यवसायी विस्थापित हुनु भनेको उनीहरुका परिवारका सदस्य सहित करिव ४० हजार विस्थापित हुनु हो । ४० हजार जनसंख्या विस्थापित हुँदा कम्तिमा एक सय वटा किराना पसलेहरु विस्थापित हुन पुग्छन् । यो १० हजार परिवारका २० हजार छोराछोरी भनेका कम्तिमा ४० वटा विद्यालय धान्ने विद्यार्थी हुन् । ४० वटा विद्यालयमा कम्तिमा ४ सय शिक्षकले रोजगारी पाएका थिए होलान । १० हजार परिवार विस्थापित हुँदा उनीहरु भाडा तिरेर बस्दै आएका कम्तिमा पनि ३० हजार कोठा खाली भए होलान ।

कोरोना सकिएर देशका अन्य शहर तंग्रिइसक्दा पनि राजधानी काठमाडौंमा आर्थिक मन्दी छाइरहनुको एउटा कारण फुटपाथ व्यवसायीको विस्थापन पनि हो । आर्थिक मन्दीका बेला साविकको रोजगारीलाई संरक्षण गर्दै थप रोजगारी सिर्जनाका लागि पहल गर्नु कुनै पनि सरकारको मुख्य कर्तव्य हो । तर काठमाडौं महानगरपालिकाले साविकको रोजगारी पनि खोसिदियो । जसका कारण यतिबेला काठमाडौंको जनसंख्या ह्वात्तै घटेको छ । बजारमा मान्छे निकै पातलिएका छन् । उपत्याका भित्र चल्ने सार्वजनिक बसहरुमा यात्रुको भीड देखिन छाडेको छ ।

प्रतिक्रिया