एउटै स्कुलबाट १२ बर्से र ४० बर्से परीक्षार्थी

एसइई संयोग

काठमाडौं । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् ।

अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरका रहेको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए ।

विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारी पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ ।

यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिएका छन् ।

कक्षा ७ सम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उनी नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए ।

कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएका प्रधानाध्यापक तिवारीले बताए ।

पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताए ।

अनुगमन अनुमतिपत्र रद्द

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेको छ । आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासो आएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ, ‘अनुगमनका लागि खटिनुपर्ने आधिकारिक व्यक्तिबाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ ।’

प्रतिक्रिया