आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी टी– २० सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ उल्भ्सले नेपाल ‘ए’ लाई जितका लागि २२३ रनको विशाल लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ गरेको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रन बनाएको हो । आयरल्याण्ढका लागि पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा चार चौका र दुई छक्कासहित ३४ रनमा आउट भए ।

निल रक २३ बलमा एक चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा दुई चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होइले ६ बलमा दुई छक्कासहित १८ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान एक–एक विकेट लिए । अहिले नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

यसअघि सिरिज बिहीबार सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिका अनुसार नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स ‘ए’ ले शुक्रबार पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

प्रतिक्रिया