एसइई परीक्षाले दिएको संकेत

यस वर्षको एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै छ । २७ चैतसम्म सञ्चालन हुने यो परीक्षामा १० हजार ८ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । माध्यमिक तहको शिक्षा प्राप्त गरेका विद्यार्थीहरू उच्च माध्यमिक तहको शिक्षाका लागि के कति योग्य छन् भन्न मापदण्ड निर्धारणका लागि एसइई परीक्षा लिइन्छ । एसइई परीक्षा केन्द्रीय स्तरको मापदण्ड पनि हो । परीक्षार्थीको संख्यात्मक हिसाबले एसइई नेपालकै सबैभन्दा ठूलो परीक्षा हो । केही वर्ष अघिसम्म एसएसलीलाई विद्यालय तहको अन्तिम परीक्षा भनिन्थ्यो । त्यतिबेला एसएलसीलाई विद्यार्थीहरूको फलामे ढोका भन्ने चलन पनि थियो । क्याम्पस तहबाट प्रमाणपत्र तह हटाएर सबै विद्यार्थीले उच्च माध्यमिक (११ र १२ कक्षा) तह अध्यायन गर्न पाउने व्यवस्था गरिएपछि २०७३ सालदेखि एसइई भन्न थालिएको हो । तर, एसएलसीको पर्यायवाची एसइई होइन । देशव्यापी शैक्षिक स्तर मापन गर्ने विधि मात्रै हो एसइई । एसइई परीक्षमा सामेल हुने विद्यार्थीको संख्या, छात्र तथा छात्राको संख्या, उत्तीर्ण हुने प्रतिशत लगायतले देशको शैक्षिक अवस्था, जनसंख्याको अवस्था, लैंगिक अवस्थालगायत धेरै कुराको विश्लेषण गर्न सहयोग पुर्याउँँछ ।

नेपालमा एसइई परीक्षामा सामेल हुने विद्यार्थीको संख्या २०७५ सालसम्म लगातार बढ्दै गए पनि त्यस यता भने क्रमशः घट्दै गएको देखिन्छ । यसैगरी २०७१ सालदेखि छात्रको संख्याभन्दा छात्राको संख्या बढी हुन थालेकोमा यस वर्षदेखि फेरी छात्रको संख्या भन्दा छात्राको संख्या कम हुन थालेको छ । देश कता जाँदै छ ? जनसंख्याको लैंगिक सन्तुलनमा गडबड हुने संकेत के कसरी देखिँदै छ ? भन्ने प्रश्न यो संख्या घटबढले देखाएको छ । छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने व्यापक चेतना आइसकेको अवस्थामा एसइई परीक्षा दिने विद्यार्थीको संख्या घट्नुको अर्थ हो, देशमा शिशुको जन्मदर ह्वात्तै घटेको छ । यसैगरी देशको कुल जनसंख्या पुरुषको भन्दा महिलाको करिब १० लाख बढी छ । तर एसइई परीक्षामा समेल हुने संख्या भने महिलाको भन्दा पुरुषको बढी देखियो । यसको अर्थ हो, छोरीको जन्मदर पछिल्ला वर्षमा ह्वात्तै घटेको छ । जनगणना २०७८ को तथ्यांकले पनि यो कुरा देखाइसकेको छ । २०६५ सालभन्दा अघि वार्षिक ६ लाख शिशु जन्मने गरेकोमा त्यस यता लगातार घट्दै घट्दै गएको छ । २०७८ मा जम्मा चार लाख शिशु जन्मेका छन् । जसमा पुरुष शिशुको संख्या महिला शिशुको भन्दा करिब १० हजार बढी छ ।

शिशुको जन्मदर यस्तै रहने हो र युवा विदेश पलायन हुने क्रमले यसरी नै निरन्तरा पाउने हो भने अबको ३० वर्षपछि नेपाल बुढाबुढीको देशका रूपमा परिणत हुनेछ । देशमा अवसरको कमी रहेको अवस्था छ । विदेशमा प्रचुर अवसर प्राप्त भइरहेको अवस्था छ । यस्तो अवस्था रहुन्जेल युवाहरूलाई विदेश जानबाट रोक्ने कुरा भएन । केही अपवादबाहेक विदेश जानेहरूले राम्रो उन्नति गरेका छन् । विदेशमा रहे पनि स्वदेशका लागि उनीहरूको उल्लेखनीय योगदान छ । उनीहरूले नै पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । तर शिशुको जन्मदर घट्न थालेको अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ । महँगीका कारण जीवनयापनमा कठिनाइ उत्पन्न भएकोले ढिलो विवाह गर्ने र दम्पत्तिहरूले एउटाभन्दा बढी सन्तान जन्माउन नसक्ने वाध्यता उत्पन्न भएको छ । खासगरी शिक्षादीक्षा अत्यन्त महँगो भएको छ । सरकारी विद्यालयमा पढाइको स्तर अत्यन्त कमजोर छ, निजी विद्यालयको शुल्क अत्यन्तै चर्को छ ।

प्रतिक्रिया