आफूभित्रको असत्यलाई हटाएर होली खेलौँ

मधेसब्यूरो । होलीलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा लिइने भएकोले आफूभित्रको असत्यमाथि आफैँले विजय प्राप्त गरेर होली खेल्न सहिद रामविश्वास जनारसी प्रतिष्ठान रौतहटका अध्यक्ष विपिन जयसवालले बताएका छन् ।

रौतहटको गरुडामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष जयसवालले विपन्न, सहिद परिवार तथा निमुखा नागरिकलाई होलीको विकृतिले थप आर्थिक भार दिइरहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न र सबैको साझा पर्वको रूपमा होलीलाई कायम राख्न विकृतिमाथि विजय प्राप्त गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनिप्रसाद कल्वारले होलीलाई रंग र अबिरको पर्वको रूपमा मात्र नलिई सबै वर्ग र समुदायको साझा आत्मीयताको पर्वको रूपमा पनि लिनुपर्ने बताएका छन् । होलीले सामाजिक एकता र भाइचाराको सन्देश दिएको बताउँदै नगरप्रमुख कल्वारले होलीलाई शान्तिपूर्वक मनाउन सबैमा आग्रह गरेका छन् ।

यसैगरी नेकपा एसका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले होलीलाई हरेकले आफ्नो तर्फबाट विकृतिरहित बनाउने हो भने संस्कृतिको सम्मान हुने बताएका छन् ।

सशस्त्र बेस दुधियाभारका प्रमुख सप्रनि सन्जितकुमार सिंहले होलीको दिन झन्झट झमेला हुँदा धेरै परिवारको होली नै बिग्रिने गरेको बताउँदै सबैले आफूलाई नियन्त्रणमा रहेर र अरूलाई कुनै किसिमले बाधा विरोध नगरी होली मान्न सुझाव दिएका छन् ।

गरुडा–५ का वडाध्यक्ष रामविनोदप्रसाद साहले होली मिलन, सद्भाव तथा आत्मीयताको पर्व भएकोले सबैले सबैको लागि शुभ हुने गरी मनाउन आग्रह गरेका छन् । वडाध्यक्ष साहले होलीले आत्मीयता बढाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी होलीको मौलिकता हराउँदै गएको र आधुनिकताको नाममा विकृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन थालिएको छ । होलीको विकृतिलाई कम गर्न शिक्षित समुदायले नै अग्रसरता लिनुपर्ने सर्वसाधारणको भनाइ छ ।

रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियाका हेमन राय यादवले संस्कृतिमा विकृति शिक्षित समुदायले गर्दा नै आउने गरेको तथा शिक्षित समुदायले नै विकृति हटाउन पहल गर्नुपर्ने बताएका छन् ।

होलीको सबैभन्दा बढी विकृति अश्लील गीत र मदिरा पान गर्ने रहेको सर्वसाधारणको बुझाइ छ । मदिरा पान गर्ने सवालमा शिक्षितहरू नै अगाडि रहेको तथा अश्लील गीतलाई नवयुवाहरूले प्रोत्साहन गरिरहेकोले दुवै किसिमका विकृतिलाई शिक्षित समुदायले हटाउन नेतृत्व लिनुपर्ने यादवले बताए ।

मौलापुर नगरपालिकाका–९ सोनरनियाका मदन साहले समाजमा शिक्षाको ज्योति फैलाउने शिक्षक र अन्य शिक्षित समुदायको नक्कल अन्य युवाले गर्ने भएकोले विकृति हटाउन शिक्षित समुदाय नै प्रतिबद्ध हुनुपर्ने सुझाव दिए । अझै पनि शिक्षित समुदायप्रति आमनागरिकको विश्वास रहेकोले शिक्षित समुदायले होलीजस्तो पर्वलाई संस्कृतिमूलक बनाउनुपर्ने उनले बताए ।

होलीलाई विकृतिमूलक बनाउनका लागि विदेशी संस्कृतिको प्रभाव रहेको बलुआका भिखारी पन्डित बताउँछन् । विकृति हटाउन सबैले चाहेको तर कसैले पहल गरिनरहेको अवस्थामा स्थानीय सरकारहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने पन्डितको भनाइ छ ।
सबै क्षेत्रमा स्थानीय सरकारले सकारात्मक सोचाइ ल्याउँदा संस्कृतिमा विकृति रोक्न पनि स्थानीय सरकारले नै बढी जिम्मेवारी लिनुपर्ने पन्डितको भनाइ छ ।

होलीको संस्कृतिमा नकारात्मक कुराले बिस्तार पाइसकेको अवस्थामा सम्भव भएसम्म सकारात्मक भावलाई जनमानसमा विस्तार गर्न शिक्षित तथा बौद्धिक समुदायले अग्रसरता लिनुपर्ने सबैको सुझाव रहेको छ । शिक्षित समुदायले विकृति छाडेर विकृति फैलाउनेमाथि निगरानी गर्दा होलीले मौलिकता पाउने सर्वसाधारणको भनाइ रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया