मधेस ब्यूरो । होलीको मौलिकता हराउँदै गएको र आधुनिकताको नाममा विकृति बढ्दै गएकोप्रति चिन्ता व्यक्त हुन थालेको छ । होलीको विकृतिलाई कम गर्न शिक्षित समुदायले नै अग्रसरता लिनुपर्ने सर्वसाधारणको भनाइ छ ।
रौतहटको कटहरिया नगरपालिका– ८ पिप्रापोखरियाका हेमन राय यादवले संस्कृतिमा विकृति शिक्षित समुदायले गर्दा नै आउने गरेको तथा शिक्षित समुदायले नै विकृति हटाउन पहल गर्नुपर्ने बताउँछन् । होलीको सबैभन्दा बढी विकृति अश्लील गीत र मदिरापान गर्ने रहेको सर्वसाधारणको बुझाई छ ।
मदिरापान गर्ने सवालमा शिक्षितहरु नै अगाडि रहेको तथा अश्लील गीतलाई नवयुवाहरुले प्रोत्साहन गरिरहेकाले दुवै किसिमका विकृतिलाई शिक्षित समुदायले हटाउन नेतृत्व लिनुपर्ने यादव बताउँछन् । मौलापुर नगरपालिकाका– ९ सोनरनियाका मदन साहले समाजमा शिक्षाको ज्योति फैलाउने शिक्षक र अन्य शिक्षित समुदायको नक्कल अन्य युवाले गर्ने भएकाले विकृति हटाउन शिक्षित समुदाय नै प्रतिबद्ध हुनुपर्ने बताउँछन् ।
अझै पनि शिक्षित समुदायप्रति आम नागरिकको विश्वास रहेकोले शिक्षित समुदायले होलीजस्तो पर्वलाई संस्कृतिमूलक बनाउनुपर्ने बताउँछन् । होलीलाई विकृतिमूलक बनाउनको लागि विदेशी संस्कृतिको प्रभाव रहेको बलुआका भिखारी पण्डित बताउँछन् ।
विकृति हटाउन सबैले चाहेको तर कसैले पहल नगरिरहेको अवस्थामा स्थानीय सरकारहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने पण्डितको भनाइ छ । सबै क्षेत्रमा स्थानीय सरकारले सकारात्मक सोचाइ ल्याउँदा संस्कृतिमा विकृति रोक्न पनि स्थानीय सरकारले नै बढी जिम्मेवारी लिनुपर्ने पण्डितको भनाइ छ ।
होलीको संस्कृतिमा नकारात्मक कुराले विस्तार पाइसकेको अवस्थामा सम्भव भएसम्म सकारात्मक भावलाई जनमानसमा विस्तार गर्न शिक्षित तथा बौद्धिक समुदायले अग्रसरता लिनुपर्ने सबैको सुझाव रहेको छ । शिक्षित समुदायले विकृति छाडेर विकृति फैलाउनेमाथि निगरानी गर्दा होलीले मौलिकता पाउने सर्वसाधारणको भनाई छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया