मधेस प्रदेशको सबैभन्दा पुरानो होली मेला आज

मधेस ब्यूरो । मधेस प्रदेशमै होलीको अवसरमा लाग्ने सबैभन्दा पुरानो मेलाको मुख्य दिन फागु पूर्णिमा अर्थात होली समनपुरको रहेको छ । २०९ वर्षदेखि लाग्दै आएको रौतहटको गढीमाई नगरपालिकाको समनपुरस्थित बैरिया फागु मेला आइतबार भव्यतापूर्वक लाग्दैछ ।

चार दिनसम्म चल्ने ऐतिहासिक मेलाको मुख्य दिन फागु पूर्णिमा रहेको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बताए । नेपाल–अंग्रेज युद्धमा स्थानीयवासीले अंग्रेजलाई हराएको सन् १८१५ देखि हरेक वर्ष लाग्दै आएको बैरिया मेलाको उद्घाटन शुक्रबार नै भएको थियो ।

एक समारोहबिच संघीय सांसद देवीप्रसाद तिमल्सिना र नगर प्रमुख यादवले संयुक्त रुपमा उद्घाटन गर्दै मेलाले स्थानीयको होली आवश्यकता पूरा गर्नुका साथै ऐतिहासिकतालाई पनि स्मरण गराएको बताएका थिए । प्रदेश राज्यमन्त्री शेख अबुल कलाम आजादले बैरिया मेला नेपाल–अंग्रेज युद्धसित जोडिएकोले यसको संरक्षण गर्नुपर्ने विचार राखेका थिए ।

कार्यक्रममा नेपाली सेनाले विभिन्न राष्ट्रवादी भावनाका प्रस्तुतिहरु पनि दिएका थिए । नेपाल अंग्रेज युद्धको क्रममा सन् १८१४ को डिसेम्बर ३१ तारिखको रातमा स्थानीयले अंग्रेज फौजमाथि आक्रमण गरी हराएको थियो । त्यसपछि करिब साढे दुई (अढाई) महिनासम्म हरेक वर्ष मेला लाग्दै आएकोमा समय क्रममा खुम्चिँदै अहिले चार दिनमा सीमित भएको स्थानीयहरु बताउँछन् ।

समनपुरका स्थानीयवासी समाजसेवी कामेश्वर सहनीले आफूहरुले १०–१२ दिनसम्म मेला लाग्ने गरेको देखेको बताउँछन् । पहिले भारतको विभिन्न ठाउँबाट व्यापारीहरु आउनुका साथै सिन्धुली, मकवानपुर, बारा, सर्लाही र रौतहटका मानिसहरु होली पर्वमा खपत हुने सामग्री किन्न आउने गरेकोमा अब चार दिन मात्र मेला लाग्ने गरेको सहनी बताउँछन् ।

समनपुरको ऐतिहासिक मेलाको मुख्य दिन फागुन पूर्णिमामा एक लाखभन्दा बढी मानिस पुग्ने गरेको अनुमान रहेको छ । मेलाको साथै समनपुरको इतिहासको संरक्षणमा खासै ध्यान नदिएकोमा स्थानीयहरु असन्तुष्ट रहेका छन् । समनपुर युद्धको स्मृतिमा नेपाली सेनाले युद्ध स्मारकको निर्माण गरेको छ । यसबाहेक अन्य कुनै पनि काम हुन नसकेकोले स्थानीयले नगरपालिकाप्रति असन्तुष्टि जनाउने गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया