एचआइभी उपचारका आशाको झिल्को !

लन्डन । प्राणघातक रोग एचआइभी संक्रमणको विषयमा एउटा नयाँ खुसी र आशाको झिल्को देखिएको छ । यस वर्षको चिकित्सा शास्त्रको नोबेल पुरस्कार पाएको क्रिस्पर जेन प्रविधिलाई प्रयोग गर्दै सेलबाट एचआइभी भाइरस बाहिर निकाल्ने कुरामा वैज्ञानिकले पहिलो सफलता पाएका छन् ।

यदि यो पद्धति पूर्ण सफल भएमा यसले मोलिक्युलर तहमा भएको एचआइभीको डिएनएलाई यसरी निष्क्रिय बनाउन पनि सक्छ कि, यसले संक्रमितको शरीरमा कुनै प्रकारको असर गर्दैन । अहिलेसम्म भएको उपचार पद्धति एचआइभी भाइरस शरीरबाट बाहिर निकाल्न नभई केवल फैलिन नदिनका लागि मात्रै विकास भएको थियो ।
आमस्टरडम विश्वविद्यालयको एउटा टोलीले यसै विषयमा अध्ययन गरेको छ । सो अध्ययनले सकारात्मक संकेत दिए पनि एचआइभीको पूर्ण उपचारका लागि अझ लामो समय कुर्नुपर्ने जनाएको छ ।

नटिंघम विश्वविद्यालयमा आबद्ध डा. जेम्स डिक्सन पनि टुंगोमा पुग्नका लागि लामो समयको अध्ययन तथा छानबिन आवश्यक रहेको कुरामा सहमत छन् । डिक्सन स्टिम सेल र जेन थेरापी प्रविधिका मुख्य मानिस हुन् । ‘पूरा शरीर र यसले सेलमा गर्ने असरका बारेमा अध्ययन गर्न र यसलाई प्रदर्शन नै गर्नका लागि अझ केही अध्ययनहरू बाँकी छन्,’ उनले भने । एचआइभी संक्रमितहरूलाई नयाँ जीवन दिनका लागि अझ लामो समयको अध्ययन आवश्यक रहेको उनले बताएका छन् ।

एचआइभीको पूर्ण उपचारमा अन्य धेरै चिकित्सक पनि लागिपरेका छन् । एचआइभीको पहिचान गर्न स्मार्ट प्रविधिको प्रयोगमा धेरै जना तल्लीन छन् । अहिले नयाँ प्रविधि प्रयोग गरिएका ३ जना स्वयंसेवकलाई ४८ घन्टा निगरानीमा राख्दा कुनै साइड इफेक्ट नभएको जनाइएको छ । लन्डनस्थित फ्रान्सिस किर्क इन्स्टिच्युटमा रहेका भाइरस विज्ञ डा. जोनाथान स्टोई सिंगो शरीरबाट एचआइभी भाइरस निकाल्नु पूर्ण रूपमा चुनौतीपूर्ण रहेको बताउँछन् ।

उनले पनि लामो समयको साइड इफेक्टमा सबैले चासो दिनुपर्ने बताएका छन् । यो नयाँ प्रविधि प्रयोगमा आए महत्वपूर्ण उपलब्धि हुनेमा चाहिँ उनी पनि सहमत छन् ।

अहिलेसम्म एन्टिभाइरल उपचारका कारण धेरै बिरामीको उपचार भइरहेको छ । एक पटक संक्रमित भएका बिरामी यस पद्धतिबाट लामो समय बाँचेका छन् । परन्तु पूरै एचआइभी नेगेटिभ भएका व्यक्ति भने विरलै छन् । एकाध व्यक्ति क्यान्सरको उपचार गर्ने क्रममा एचआइभी नेगेटिभ भएका घटना भने छन् ।
तथापि, पछिल्लो उपलब्धिले नयाँ आधार तयार गरेको कुरामा संसारभरका चिकित्सकहरू एकमत छन् ।

प्रतिक्रिया