स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ सितापुर बस्ने वर्ष ३० का मुकेश कुमार साहलाई स्रोत नखुलेको १० लाख एक हजार ६३० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएकोे छ ।

लहान नगरपालिका–१ गोलचक्करस्थित इलाका प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरिक्षक लिलाभक्त वादे र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी सहायक निरिक्षक दुर्गा यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले पूर्व–पश्‍चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा पूर्वबाट आइरहेको प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्दा उनले बोकेको रातो रङको झोलाबाट स्रोत नखुलेको नेपाल एसबिआई बैंकको स्टीकर लागेको रु १,००० दरको नोटको १० वटा प्याकेट र अन्य रु १६३० गरी दश लाख एक हजार ६३० फेला परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया