शान्तिका लागि पानी

मानव जातिले पहिलो र दोस्रो विश्वयुद्ध भोगिसकेको छ । तेस्रो विश्वयुद्ध हुन नदिन भरमग्दुर प्रयत्न गरिएको छ । विश्वका ठूला या साना युद्धका इतिहास हेर्ने हो भने प्राकृतिक स्रोत कब्जाको प्रयत्न नै प्रमुख कारक रहेको देखिन्छ । पहिलो र दोस्रो विश्वयुद्ध धातु तथा इन्धनजन्य प्राकृतिक स्रोत तथा त्यसको ओसारपसार गर्ने मार्ग कब्जाकै लागि भएका थिए भन्ने कुरामा दुई मत छैन । अब तेस्रो विश्व युद्ध यदि भयो भने खानेपानीको स्रोत कब्जाका लागि हुने प्रक्षेपण विज्ञहरूले गरेका छन् । यो संकट आउन नदिनका लागि खानेपानीका स्रोत संरक्षणमा विश्वका वातावरणविद्हरू जुटेका छन् । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको पर्यवरण र विकास विभागको भेलाले खानेपानीका स्रोत संरक्षणका विषयमा विभिन्न रूपरेखा निर्माण गरेको थियो ।

त्यही दिनलाई स्मरण गर्दै सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै विश्व पानी दिवस मनाउन थालिएको छ । जीवनलाई सार्थक तुल्याउने पानीको सहज र सुलभ उपलब्धता तथा यसको सुरक्षित र मितव्ययी प्रयोगबारे जनचेतना यो दिवसमा प्रवाह गरिन्छ । सन् २०२४ अर्थात यस वर्षको विश्व पानी दिवसको नारा ‘शान्तिका लागि पानी’ भन्ने रहेको छ । यदि पानी छैन भने जिन्दगी छैन । पानीको संकट पर्यो भने विश्वमा शान्ति संभव छैन । पानीको तिर्खा मेटाउनका लागि एकले अर्कालाई मार्न सक्छन् । मान्छेले मान्छेकै रगत पिउन पनि पछि नपर्ने अवस्था आउन सक्छ ।

विश्वमा अहिले करिब आठ अर्ब जनसंख्या छ । जसमध्ये करिब एक अर्ब जनसंख्याले स्वच्छ खानेपानीको आभाव बेहोरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । विश्वको कुनै भूभागमा स्वच्छ खानेपानी खेर गइरहेको अवस्था छ भने कुनै भूभागमा अपुग भइरहेको अवस्था छ । यो अवस्थालाई सम्बोधन गर्नका लागि प्रचुर पानी भएको ठाउँबाट पानी अभाव भएको ठाउँमा विभिन्न माध्यमबाट आयात निर्यात गर्ने गरिएको छ । यातायात तथा अन्य प्रविधिका कारण यो संभव भएको हो । तर, प्राकृतिक प्रकोप, आगलागी, वनजंगलको विनाश, वातावरण प्रदुषण लगायतका कारण खानेपानीका मुहानहरू सुक्दै गइरहेका छन् । बढ्दो तापक्रमका कारण हिउँ पग्लिने गति बढेको छ । कहिले अनावृष्टि र कहिले अतिवृष्टि हुन थालेको छ । यस्तो अवस्थाले भविष्यमा खानेपानीको संकट आउने अनुमान गरिएको छ । खानेपानीको संकट भनेको सबै संकटको जननी हो ।

सौभाग्यले हाम्रो देश नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो । विश्वको सबै जनसंख्यालाई पुग्ने खानेपानी नेपालमा छ । विश्वमा खानेपानीको व्यापार वार्षिक खर्बौं डलर बराबरको छ । तर, नेपालले खानेपानी निर्यात गर्न सकेको छैन । ‘माल पाएर चाल नपाउनु’ भनेको यही हो । विश्वका कतिपय देशमा खानेपानीको स्रोतको अभावमा द्वन्द्व भएको छ भने नेपालमा खानेपानीको स्रोत प्रचुर भएका कारण द्वन्द्व भएको छ । छिमेकी तथा शक्ति राष्ट्रहरूले नेपालको जलस्रोतमा आँखा गाडेको यथार्थता नयाँ होइन । जलस्रोतमा आँखा गाड्नकै लागि उनीहरूले विभिन्न नाममा एक नेपालीविरुद्ध अर्को नेपालीलाई उचालेर द्वन्द्व मच्चाएको यथार्थता पनि बिर्सनु हुन्न ।

पेट्रोलियम पदार्थको प्रचुरता भएका खाडी देशहरूलाई एकआपसमा भिडाएर, हिरा तथा सुनको प्रचुरता रहेका अफ्रिकी देशहरूमा जातीय द्वन्द्व सिर्जना गराएर शक्ति राष्ट्रहरूले जे जसरी आफ्नो दुनो सोझ्याइरहेका छन्, जलस्रोतको प्रचुरता भएको हाम्रो देशमा पनि त्यही सूत्र प्रयोग गरेका छन् । यो क्रम घट्दो होइन बढ्दो छ भन्ने कुरा हामी नेपालीले बुझ्नुपर्छ । दोस्रो कुरा जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण हाम्रो देशका पानीका मुहानहरू सुक्न थालेका छन् । हिमाल छिटो पग्लन थालेको छ । खानेपानीका मुहान सुक्न नदिनेतर्फ ध्यान दिनु जरुरी छ । तेस्रो कुरा हाम्रो देशको जलस्रोत खानेपानीका लागि मात्रै अपरिहार्य होइन, सिँचाइ तथा इन्धनका लागि पनि उत्तिकै अपरिहार्य छ । मुहान संरक्षण गरेर मात्रै पुग्दैन, स्वामित्वको संरक्षण गर्नुु पनि त्यतिकै जरुरी छ । किनकी हाम्रै असावधानीका कारण कोशी, गण्डकी र महाकाली हाम्रो हातबाट गुमेका छन् । बाँकी नदी नालाको स्वामित्व संरक्षणका लागि नेपाली जनताले हरहमेशा खबरदारी गर्नुपर्छ ।

प्रतिक्रिया