रौतहट । रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो चरणको पहिलो दिन गौर नगरपालिका र माधवनारायण नगरपालिकाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको पहिलो खेलमा कटहरिया नगरपालिकालाई ६४ रनले पराजित गर्दै गौर नगरपालिका विजयी भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको गौर नगरपालिकाले सितेश तिवारीको ५१ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाएर १४८ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । १४९ रनको विजयी लक्ष्य पाएको कटहरिया नगरपालिकाले १८ ओभर ४ बलमा १० विकेटको क्षतिमा ८४ रन मात्र बनाएर ६४ रनले पराजित भएको छ । कटहरियाको तर्फबाट नरेश साहले २८ रन बनाएका थिए ।
त्यसैगरी दिउँसो भएको खेलमा दुर्गा भगवती गाउपालिकालाई ७४ रनले पराजित गर्दै माधवनारायण नगरपालिका विजयी भएको छ । पहिला ब्याटिङ गरेको माधवनारायण नगरपालिकाले २० ओभरमा ७ विकेटको क्षतिमा अहिलेसम्मको उच्च स्कोर १८५ रन खड़ा गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रवीण टिबडेवालले बताए ।
सचिन यादवले ७७ रन, चन्दन यादवले २० रन र विवेक सहनी १८ रनको पारी खेलेका थिए । १८६ रनको लक्ष्य पूरा गर्न आएका दुर्गा भगवती गाउँपालिकाले १७ ओभरमा १० विकेट गुमाउँदै १११ रन मात्र बनाएर खेल गुमाएका छन । जगरनाथ दासले ३१ र रितिक गुप्ताले २८ रनको व्यक्तिगत योगदान दिएको प्रेस संयोजक टिबडेवालले बताए ।
रौतहट
प्रतिक्रिया