लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिकाले बालविवाह रोक्ने प्रतिबद्धता जनाएको छ । पालिकाको सभाहलमा ग्रामीण नारी उत्थान संघले आयोजना गरेको ‘सन्दर्भ संवाद’ कार्यक्रममार्फत पालिकाले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएको हो ।
ग्रामीण नारी उत्थान संघ हरिपुर–२ र सेभ द चिल्ड्रेनको साझेदारी तथा हरिपुर नगरपालिकासँगको समन्वयमा बाल (कम) उमेर र जबरजस्ती विवाह रोक्ने अभियानअन्तर्गत स्थानीय बालक्लब तथा पालिकासँग संवाद कार्यक्रमको आयोजना गरिएको थियो ।
‘हामी सबैको एउटै सुर, बालविवाह मुक्त हाम्रो हरिपुर’ अभियानअन्तर्गत भएको कार्यक्रममा नगरउपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोलगायत बाल क्लबका पदाधिकारीहरू र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूसँग बालविवाहले निम्त्याउन सक्ने समस्या, चुनौती र विभिन्न घट्नाहरूको स्मरण तथा विश्लेषण गर्दै बालविवाह रोक्नका लागि हाम्रो भूमिका के रहन्छ भन्ने विषयमा छलफल गरिएको कार्यक्रम संयोजक सिर्जना बस्नेतले जानकारी दिइन् । कार्यक्रममा बाल तथा जबरजस्ती हुने विवाहलाई अन्त्य गर्नका लागि प्रतिबद्धतापत्रमा नगरप्रमुख, उपप्रमुख लगायतले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया