भारतीय मोस्ट वान्टेड सर्लाही प्रहरीको नियन्त्रणमा

लालबन्दी । मोस्ट वान्टेड सूचीमा रहेका दुई भारतीय अपराधीलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राती बरहथवा नगरपालिका–६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोसाकमा खटिएको प्रहरीको संयुक्त टोलीले दुई जना भारतीय फरार अपराधीलाई अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भारत बिहार जिल्ला सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपराका २४ वर्षीय जितेन्द्रकुमार राउत रहेका छन् । उनीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

बरहथवास्थित स्थानीय रामटहल महतोको घरमा डेरा गरी बसेको भन्ने विशेष सुराकीका आधारमा पुगेको प्रहरी टोली देख्ने बित्तिकै जितेन्द्रले साथमा रहेको अमेरिकन स्वचालित पेस्तोलबाट एक राउन्ड गोली फायर गरेको पत्रकार सम्मेलनमा एसपी ज्ञवालीले जानकारी दिए ।

एसपी ज्ञवालीका अनुसार तत्काल सुरक्षाकर्मीहरूले घेरा हालेर उनीहरूको साथमा रहेको एक थान पेस्तोल, ६ राउन्ड गोली र फायर भएको एक थान खोकासमेत बरामद गरेको थियो । दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाँदै गर्दा बसबरिया गाउँपालिका–६ पोखरीयाबाट सात सय मिटर अगाडि प्रहरी भ्यानको पछाडिबाट भाग्न खोजेका राउतलाई प्रहरीले पाँच राउन्ड गोली हानेर पुनः नियन्त्रणमा लिएको थियो ।

भाग्न लागेका राउतको बायाँ घुँडा र दाहिने तिघ्रामा प्रहरीको दुई राउन्ड गोली लागेको थियो । उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार गरी थप उपचारका लागि जनकपुर पठाइएको एसपी ज्ञवालीले बताए । राउतलाई लखेट्ने एवं नियन्त्रणमा लिने क्रममा प्रहरी जवानद्वय रमेश विक र दिपेश चौहान लडेर सामान्य घाइते भएको जिप्रकाले जनाएको छ ।

उनीहरूको साथबाट BRO6 AU 2018 नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद भएको डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए । पक्राउ परेका दुवै जना दुई वटा कर्तव्य ज्यान, एक ज्यान मार्ने उद्योग र एक लागुऔषध मुद्दामा भारतीय अदालतबाट दोषी करार भई फरार रहेका अपराधी हुन् ।
नेपाली भूमिमा समेत उनीहरूले बैंक तथा सहकारी लुटपाटमा संलग्न भएको तथा कसैको हत्या गर्न ‘सुपारी किलर’ को रूपमा समेत आएको हुनसक्ने आशंकासहित सूक्ष्म ढंगले अनुसन्धान भइरहेको एसपी ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया