एनभिएमा भलिबलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफ विजयी

काठमाडौं । आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय नेपाल एपिएफले तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिम प्रदेशलाई हराउँदै विजयी भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सुरुवाती दुई सेट गुमाएको एपिएफले त्यसपछिको सबै तीन सेट आफ्नो पक्षमा पार्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । पराजित सुदूरपश्चिम प्रदेश उपविजेता बनेको छ ।

सुरुवातमा अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा एपिएफ दबाबमा परेको थियो । २४–२४ को बराबरीबाट एपिएफले लगातार दुई अंक गुमाएको थियो । दोस्रो सेटमा भने एपिएफको प्रदर्शन भने फितलो बन्दा सेट १९–२५ ले गुमाएको थियो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट एपिएफले २८–२६ ले जित्दै खेलमा फर्कने संकेत दिए । एक समय ४ अंकले पछि परेको एपिएफले चार म्याच प्वइन्टमा खेल आफ्नो पक्षमा पारेको हो ।

चौथो सेटमा भने एपिएफ २५–२२ ले विजयी भएपछि खेल पाँचौं सेटमा लम्बियो । रोमाञ्चक र प्रतिस्पर्धात्मब बनेको पाँचौं सेट एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै सानदार पूनरागमन जित निकाल्न सफल भयो ।

१४–१३ को स्थितिमा सुदुरका भारतीय खेलाडी शाहिलको सर्भिस जालीमा लागेपछि खेल एपिएफले हात पार्यो । एपिएफका विजय थापा केल्मी प्लेयर अफ दि म्याच चुनिए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर पाए ।

यस जितले एपिएफले दुई खेलबाट ५ अंक बटुल्दा सुदूरपश्चिमले ४ अंक जोड्यो । जावलाखेल अंकविहीन बन्यो । अब एपिएफले समूह ‘डी’ को उपविजेता तथा सुदूरपश्चिमले ‘डी’ को विजेतासँग खेल्नेछ ।

पुरुषतर्फ साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको समूह ‘ए’ को विजेता बनेको छ । हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । यो समूहको उपविजेता कोशीले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

आज नै महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले तीन भारतीय र नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ ।

हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे सेमिफाइनल पुग्ने छ । पुलिसको ५ र आर्मीको ३ अंक छ ।

प्रतिक्रिया