वीरगञ्ज । रौतहटबाट भारतको अयोध्याका लागि पैदल हिँडेका पाँच जनालाई वीरगन्जबाट बिदाइ गरिएको छ । वीरगन्जस्थित शंकराचार्यद्वारमा पाँच जनालाई स्थानीयले आइतबार बिदाइ गरेका हुन् । रौतहटको राजपुर नगरपालिकाबाट शनिबार बिहान जितेन्द्रप्रसाद जयसवाल, अम्भुकुमार यादव, पप्पु भनिने लालबाबु साह र नेपाली साह गरी पाँच जना पदयात्रामा निस्किएका थिए ।
साधुहरूले लगाउने भगवा पोसाकमा रहेका पाँचै जनाले नेपालको राष्ट्रिय झन्डा बोकेका छन् । राष्ट्रियता आफूहरूको पहिचान भएको पदयात्रीको भनाइ छ । नेपालका साथै विश्व शान्तिको कामनासहित आफूहरू राम जन्मभूमि अयोध्याको लागि प्रस्थान गरेको जितेन्द्रप्रसाद जयसवालले बताए ।
आठदेखि १० दिनमा आफूहरू अयोध्या पुग्ने र नेपालको शान्तिको सन्देश अयोध्यावासीलाई सुनाउने जयसवालले दाबी गरेका छन् । अयोध्यामा राम मन्दिर निर्माणसँगै आफूहरूले त्यहाँसम्मको पैदल यात्रा गर्ने संकल्प लिएको र सो पूरा गर्ने समय आएको जयसवालले बताए ।
रौतहटबाट हिँडेर शंकराचार्य गेटसम्म पदयात्रा गर्दा बाटोमा पर्ने रौतहट, बारा, पर्साका सबै धार्मिक मठ तथा मन्दिरमा आशीर्वाद लिँदै आएको र भारतमा प्रवेश गर्नुअघि आफूहरूलाई बेग्लै किसिमको अनुभव भएको उनीहरूले बताए । सबै ठाउँमा आत्मीयता तथा सद्भाव भएको र विभिन्न जात तथा धर्मका मानिसहरूले पनि आफूहरूप्रति सहानुभूति दर्शाएको पदयात्रुको भनाइ छ । उनीहरूका अनुसार सद्भाव र सहानुभूतिले खाना तथा आवासको कुनै कठिनाइ भएन ।
प्रतिक्रिया