संघीय राजधानी समेत रहेको काडमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुकमा छोटो विवरण सहित एउटा होडिङ्ग बोर्डको तस्वीर राखेका छन् । त्यो होडिङ्ग बोर्डमा उल्लेख छ– ‘यो काम काठमाडौं महानगरपालिकाको मातहतमा पर्दैन ।’ यो बिबरण लेखिएको होडिङ्ग बोर्ड महानगपालिकाले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ क्षेत्रका करिव आधा दर्जन ठाउँमा राखेको छ । चक्रपथलाई ४ लेनबाट बढाएर ८ लेन फराकिलो बनाउने भन्दै यस क्षेत्रमा पाँच वर्ष अघि नै रुखहरु काटेर उजाड बनाइएको छ । सडकको छेउछाउ भत्काइएको छ । जसकारण जताततै धुलो र खाल्डाखुल्डी छ । यो खण्डमा यात्रा गर्नहरुले धुलोका कारण चिन्नै नसक्ने भएको आफ्नो अनुहार सहितको तस्वीर सार्वजनिक गर्दै ‘के हेरेर बसेका छन् बालेन्द्र शाह ?’ भन्ने प्रश्न सहित सामाजिक सन्जालमा सार्वजनिक गर्न थालेका छन् ।
यसैको प्रत्युत्तरमा मेयर शाहले ‘यो काम महानगर पालिकाको क्षेत्र भित्र पर्दैन है’ भनेर ठाउँ ठाउँमा होडिङ्ग बोर्ड राख्न लगाए । यतिले पनि नपुगेर पिडा तथा सास्तीको विवरण उल्लेख गर्दै सामाजिक सन्जालमा होडिङ्ग बोर्डको तस्वीर समेत सार्वजनिक गरे । एक वर्ष होइन , दुई वर्ष होइन , पाँच–पाँच वर्ष देखि कलंकीदेखि महाराजगन्ज क्षेत्र हिँउदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । यही कारण गत वर्षको वर्षा याममा सामाखुशी क्षेत्रका एक किशोरको खाल्डोमा परेर ज्यान समेत गएको थियो । चक्रपथ बिस्तारको काम किन यसरी अलपत्र परेको हो ? हिलो र धुलोको सास्ती राजधानी काठमाडौंका जनताले कहिलेसम्म भोग्ने ? के हेरेर बसेका छन् हाम्रो देशका नीति निर्माताहरु ? भन्ने प्रश्न जोडदार रुपमा उठ्न थालेको छ ।
हुन पनि कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्मको यात्रा गर्नेहरुले आह, काठमाडौं शहर’ भन्दै तारिफ गर्ने अवस्था छ । नेपालमा पनि यस्तो सडक रहेछ भनेर विदेशीहरु समेत आश्चर्यमा पर्छन् । तर कलंकीदेखि बालाजु हुँदैै महाराजगन्जसम्मको अवस्था भने नर्क जस्तै छ । यो खण्डमा यात्रा गर्नु भन्दा नरकको यात्रा जाती भन्न थालिएको छ । यो खण्डमा यात्रा गर्नेहरुले नेताहरुलाई सराप्ने गरेका छन् । २४ सै घण्टा सास्ती झेल्नु पर्ने सडक आसपासका जनताको दुर्दशा संझँदा साचिकै कहाली लाग्दो छ । यसै पनि पाँच वर्ष अघि नै युद्धस्तरमा रुख काटेर यो क्षेत्र उजाड बनाइएको थियो । त्यस माथि अहिले त सर्भिस लेन निर्माण गर्ने भन्दै सडकका दुवै खण्डमा डोजर लगाएर माटो खोतलीएको छ । जताततै ढुंगा ,माटो, गिटी, बाल्ुवा थुपोरिएको छ । जसका कारण धुलोको सस्ती मात्रै होइन ट्राफिक जाम बढेका कारण राजधानी काठमाडौं अस्तव्यस्त छ ।
चक्रपथको निर्माण आज भन्दा करिव ५० वर्ष अघि चीन सरकारले अनदानमा गरिदिएको हो । बिस्तारको काम पनि अनुदानमै निर्माण गर्न चीन सरकार तयार भए पछि एक दशक अघि नै संझौता गरिएको थियो । संझौता अनुसार पहिलो अर्थात कलंकी– बल्खु– कोटेश्वर खण्ड २०७५ सालमा निर्माण सम्पन्न भयो । दुई वर्ष भित्र सक्ने लक्षका साथ काम गर्न थालेको चिनियाँ टोलीलाई समयमै ‘साइट क्लीयर’ नहुँदा काम सम्पन्न गर्न चार वर्ष लाग्यो । यही अनुभवलाई मध्यनजर राख्दै चिनियाँ निर्माण व्यवसायीको टोलीले बाँकी खण्ड बिस्तारका लागि शर्त राख्यो । त्यो शर्त थियो –‘ सइट क्लीयरेन्सको काम नेपालले नै गर्नुपर्ने र ‘साइट क्लीयर’ भए पछि मात्रै आँफुले बिस्तारको काम सुरु गर्ने ।’ किनकी उपकरण तथा कामदारहरु नेपाल ल्याइसके पछि तत्काल निर्माणको काम सुरु गर्न नसके अथवा लगातार काम गर्न नपाए ठेकेदारलाई घाटा हुने अवस्था थियो । त्यसैले यस्तो शर्त राखियो ।
नेपालकातर्फबाट साइट क्लीयरेन्सको संझौता भएको १५ दिन बित्दा नबित्दै रुख काट्ने काम युद्ध स्तरमा भयो । तर विजुलीका पोल सार्ने, खानेपानीका पाइप तथा ढल राख्ने , निर्माणस्थलका भौतिक संरचाना हटाउने, दुबै किनारमा सर्भिस लेन बनाउने लगायतका काम सम्पन्न हुन भने बर्षौं लाग्यो । कतिपय काम सम्पन्न हुन बाँकी नै छ । महाराजगन्जको नारायणगोपाल चोक क्षेत्रमा निजी घरहरु अझै ज्यँुका त्युँ छन् । सर्भिस लेनको निर्माण ५० प्रतिशत पनि सम्पन्न भएको छैन । तर यसको जिम्मेवारी लिएका कर्मचारीहरु चीन सरकारलाई दोष दिँदै मिडियामा समाचार लेखाउने दुस्ककर्ममा ब्यास्त छन् । छिमेकी देशले सित्तैमा गरिदिन लागेको यति महत्वपूर्ण संरचना निर्माणमा अबरोध सिर्जना किन र कसको स्वर्थका लागि गरिएको हो ? भन्ने विषयमा गहन अध्यायन हुनु जरुरी देखिएको छ ।
प्रतिक्रिया